© २०२३
नवलपरासी, ११ पुस ।
गत जेठ अन्तिम सातादेखि परीक्षण गर्दै पृथ्वीचन्द्रमा सुरु गरिएको डायलासिस सेवा बापत अस्पतालले पाउनुपर्ने रकम प्रदेश सरकारले नपठाइदिँदा अस्पताललाई चुनौती थपिएको छ ।
अस्पताललाई पटक–पटक बिमा रकम प्राप्तिमा बिमा बोर्डले ढिलाइ गर्दा अस्पताल सञ्चालनमा झेल्दै आएको वित्तीय चुनौतीमा अहिले डायलासिस बापत पाउने भुक्तानी ढिलाइले दोस्रो चुनौती थपिएको अस्पताल प्रशासनले जनाएको हो ।
सरकारले निर्णय गर्ने र सेवाका लागि मातहतका अस्पताललाई अख्तियारी पठाउने गरेको छ । तर अस्पतालले विभिन्न जोहो गरि औषधी उपचार, क्लिनिकल, सर्जिकल आदी कार्यको वित्तीय व्यवस्थापन गर्दै काम गर्ने र सो बापतको सरोकारवाला निकायले रकम नपठाइदिँदा अस्पताल सञ्चालनमा चुनौती थपिने अस्पतालका अध्यक्ष जगदीश चौधरीले बताए ।
सरकारले सेवा घोषणा गर्ने र अख्तियारी समेत पठाइदिँदा यहाँका जनताले सो सेवा माग गर्न पनि थाल्छन्, अस्पतालले माग अनुसार सेवा पनि सुचारु गर्छ ।
तर सेवा पु¥याउँदा लाग्ने खर्च बापतको रकम बेलामै सम्बन्धित निकायसँग माग गर्दा पनि ढिलाइ हुन्छ, उनले भने, यसले अस्पताल सञ्चालनमा समस्या ल्याउँछ, उत्साही बनाउनु भन्दा सबैलाई निरुत्साहित गर्ने कार्य हुन थाल्छ, यसले अस्पतालको गुणस्तरीय सेवालाई समेत प्रभावित बनाउने कार्य हुन्छ ।
यसबारे सरोकारवाला निकायका अधिकारीहरू सेवा प्रदायक संस्थाको मर्म र भावना बुझेर छिटोछरितो कार्य गर्नका लागि विभिन्न मञ्चमा उठाउँदै आएको तर प्रतिबद्धता आउने र व्यवहार उस्तै रहने समस्या देखिएको अध्यक्ष चौधरीले गुनासो गरे । उनका अनुसार प्रति पटक डायलासिस गर्दा ढाई हजारका क्लिनिकल सामग्री खर्च हुन्छ । चार वटा बेडमा डायलासिस हुने गरेको छ ।
दिनमा दुई पटक हुन्छ । यसरी दैनिक ८ जनाको डायलासिस हुने गरेको छ । त्यसका लागि दैनिक २० हजार रुपियाँ खर्च भई रहेको छ । हालसम्म एक रुपियाँ पनि आएको छैन्, उनले भने, सबै अस्पतालले आफ्नै आन्तरिक स्रोतले हालसम्म व्यवस्थापन गर्दै आएको छ ।
सरकारले उपलब्ध गराउने रकम उपलब्ध गराईयो भने अन्य सेवा थप्न वा भएको सेवालाई थप सुविधायुक्त बनाउनमा काम हुन्थ्यो तर रकम अभावले गर्न पाइएको छैन् ।
डायलासिस गराउने ३० भन्दा बढी बिरामी अहिले अस्पतालमा डायलासिस गराउने गरेका छन् । डायलासिसमा लाग्ने खर्च लुम्बिनी प्रदेश सरकारले नै ब्यहोर्ने हो । तर अहिलेसम्म सो बापत रकम निकासा नभएको अस्पतालका लेखापाल लल्लन कुर्मीले बताए ।
उनका अनुसार डायलासिस सेवालाई आवश्यक क्लिनिकल सामग्रीमा करिब ३० लाख रुपिया खर्च भई सकेको छ, रकम माग पनि भई सकेको छ, तर निकासा पाइएको छैन् । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष चौधरीलाई अध्यक्ष छनौट गरि पठाएपछि जेठ १२ गते अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गरेका थिए । एक दुई साता भित्रै शुभारम्भ गर्ने बाचा गरेका थिए ।
दुई साताभित्र नै हेमोलायलसिस सेवा शुभारम्भ गराएका थिए । सरकारले डाईलसिस गराउने बिरामीलाई निःशुल्क सेवा दिन स्थानीय स्तर मै उपकरण र जनशक्ति पठाइसकेको तर उपकरण मेसिन जडान नगरि त्यसै राखिएको अवस्थामा फेला परेको कुरा केही अघिल्लो साल आएको महालेखा परीक्षकको टोलीले आफ्नो मलेप प्रतिवेदनमै तस्बिर सहित नै उल्लेख गरेको थियो ।
अस्पतालमा झन्डै ४० लाखका उपकरण तथा मेसिनहरू खरिद गरि थन्किएको दर्साएको थियो । स्वास्थ्यकर्मीहरू पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका थिए । जिल्लामा दुई दर्जन बढी बिरामी नियमित डायल सीस गर्न बुटवल र भैरहवा जानुपर्ने समस्या झेल्दै आएका बिरामीलाई राहत हुने भएको छ ।
अध्यक्षको पदभार ग्रहण पछि सेवा गुणस्तरीय हुने र सुचारु हुन नसकेका सेवा सुचारु हुने विश्वास स्थानीयले गरेका थिए । जनताको विश्वास अनुसार नै आफू नभएको सेवा थपिने र भएको सेवालाई थप गुणस्तरीय बनाउँदै जाने लक्ष्य रहेको अध्यक्ष चौधरीको भनाई थियो । उनी विगतमा पनि २ वर्ष ३ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए ।
अध्यक्ष चौधरीको पहलमा झन्डै १८ करोड बराबरको नयाँ अस्पताल भवनको समेत शिलान्यास भएको थियो । उनी पुनः अध्यक्ष भएर आएपछि अहिले अस्पतालको नयाँ भवन समेत उद्घाटन गराई सेवा थप्ने र भएका सेवा गुणस्तरीय बनाउने कार्यमा जुटेका छन् ।
उनका अनुसार बुधबारदेखि अस्पतालमा नाक, कान घाँटीका विशेषज्ञ चिकित्सक मार्फत सेवा विस्तार भएको समेत उनले जानकारी गराए ।
त्यसैगरि गत मंसिर १० गते देखी अस्पतालले हिस्टोप्याथोलोजी सेवा परिक्षणका लागि सहुलियत दर निर्धारण गरि सिम्पल कलेक्सन गरि परिक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाएर बिरामीलाई सहजीकरण गर्ने निर्णय समेत भएको उनले बताएका थिए ।
जस्मा टेष्ट गर्ने एच एण्ड इ स्टेन बायोप्सोको रु. ६ सय ८०,प्याप स्मियरको रु.२ सय ६०, गिम्सा स्टेनको रु.९०, फ्लुइड गिम्सा स्टेनरु.९०, एफ सी. ए.एन. रु.३ सय ४०, फ्लुइडसाइटोलोजी (शरिरको तरल,थुक) रु. १ सय ७० लिक्विड वेस्ट साईटोलोजी १ हजार १ सय ९० को दर तोकेको छ । यसैगरि स्किृतिगँ इकोकार्डियोग्राफीको पनि १ हजार तोकेर सेवा प्रदान गरिरहेको छ ।
यस्तै अस्पतालमा हुने माईनर प्रोसेड्युरको दररेडमा नर्मललाई रु.५ से देखी १ हजार ५ सय र एएचएसमा रु.८ सयदेखि १ हजार ८ सय हुने जनाएको छ । जस्मा नैल रिमुभल, कर्न रिमुभल, ग्याँगोलियन क्यास्ट रिमुभवल र बर्थोलिन क्यास्ट रिमोभल सेवा समावेश छन् । त्यसका लागि नागरिक अगुवा तथा राजनीतिक दलको साथ सहयोगको आपेक्षा समेत राखेका थिए ।
अस्पतालका कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चुस्तदुरुस्त बनाउँदै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउनमा मिलेर अगाडि बढ्ने समेत उनले सुनाएका थिए ।