© २०२३
सल्यान, १४ पुस ।
सल्यानको बागचौर नगरपालिकाले वडास्तरबाटै योजना सम्झौता सुरु गरेको छ । साथै निर्माण उपभोक्ता समितिको बैंक खाता पनि वडामै खोल्ने व्यवस्था मिलाएको छ । नगरपालिकाले एकीकृत योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेर योजनाहरु अब वडाबाटै सम्झौता गर्ने कार्यको थालनी गरेको नगर प्रमुख जनकराज गौतमले जानकारी दिए । बुधबार वडा नम्बर १२ मा योजनाहरुको सम्झौता गरिएको छ । उक्त वडामा १२ वटा योजनाहरुको योजना सम्झौता संगै बैंक खाता खोल्ने काम समेत सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख गौतमको अनुरोधमा र बैंकसँगको सहमतिमा उक्त कार्यको थालनी गरिएको हो । उपभोक्ताको सहजताको लागि वडास्तरमै सम्झौताको थालनी गरिएको गौतमले जनाए । पहिले नगरपालिका सम्म पुगेर योजनाहरुको सम्झौता गर्दा असहज र खर्चिलो समेत हुने गरेको थियो ।
नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार गौतमले बताए । एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा–वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको उनले बताए ।
नगरका सबै वडाहरुमा एकीकृत योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम संचालन गर्ने नगरले जनाएको छ । दिगो र प्रभावकारी योजनाका लागि अनुगमनको पाटोलाइ पनि महत्वका साथ अघि बढाउने नगरपालिकाले जनाएको छ ।