© २०२३
चन्द्रौटा, ११ पुस ।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाले श्रमिक डेक्स बनाउने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–४, समयथान क्याम्पसमा आयोजित नगर स्तरीय श्रमिक महिला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नगर प्रमुख थापाले भने ः “श्रमिकहरू बिना नगरको समृद्धि सम्भव छैन । श्रमिकहरूको सम्मान, सुरक्षा र सुविधालाई प्राथमिकतामा राखेर स्थानीय सरकारले काम गरिरहेको छ । श्रमिक डेक्स निर्माण भएपछि श्रमिकहरूले विश्राम, परामर्श तथा जानकारी प्राप्त गर्न सहज हुनेछ ।”
यस्तै नगर उप–प्रमुख शिवकुमारी थारुले महिला श्रमिकहरुको सीप अभिवृद्धि, आत्मनिर्भरता र सामाजिक सुरक्षाका लागि नगरपालिका ठोस योजना बनाएर अघि बढ्ने बताईन् । उनीहरूको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै भनेः “महिला श्रमिकहरू दोहोरो जिम्मेवारीमा काम गरिरहेका छन् ।” उनीहरुले समयमा पारिश्रमिकदेखि सुरक्षाका सामग्रीहरु पाउनुपर्नेमा उनले जोडदिइन् ।
उनले थपिन् ः “स्थानीय सरकार श्रमिकमैत्री नीति निर्माणमा प्रतिबद्ध छ । श्रमिकका समस्या सुन्ने, समाधान खोज्ने र उनीहरूको आवाज नीतिमा समेट्ने काम निरन्तर गरिनेछ ।” यसैबीच नेपाल स्वतन्त्र श्रमिक समूहको शिवराज नगर सचिव आशाराम थारुले ठेकेदारहरुले सरकारी निर्माण कार्य गर्दा समयमा भुक्तानी नहुने समस्याले श्रमिकहरुलाई चाहेर पनि दिन नसकेको बताए ।
सरकारी निकायलाई निर्माण कार्य सकिएको निश्चित समयमा नै भुक्तानी गर्न आग्रह गरे । उनले समूहमा आबद्ध श्रमिकहरुको बीमा परिचय पत्र बनाउने कार्य सुरु भएको उनले बताए । यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेले श्रमिकले आवाज उठान आवश्यक रहेको बताए । परिश्रम गरेर मात्र हुँदैन्, उनीहरुले आफ्नो हक अधिकारबारे जानकारी पाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले महिला तथा पुरुषले श्रमिकले भोग्नु परेका समस्या बताएका थिए । उनीहरुले श्रमिकले विगतमा भोग्नु परेका समस्याबारे श्रमिक आफैले वकालत गर्न सुरु गरेको बताउँदै काम गर्ने क्रममा केही सुधार आएको बताए । श्रमिक एकजुट हुँदा वकालत गर्न सहज भएको र श्रमिकले पाउने पारिश्रमिकमा पनि वृद्धि भएको केन्द्रका सहायक कार्यक्रम अधिकृत सञ्जिव गहतराजले तथ्याङ्क समेत प्रतिवेदन प्रस्तुत गरेका थिए ।