© २०२३
बुटवल, १० पुस ।
रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै अवलोकनकर्ता प्रवेश गरेका छन् ।
बिहीबार बिहानैदेखि प्रवेशद्वारामा अवलोकनकर्ताको घुँइचो लाग्न सुरु भएको थियो । दिनभर र साँझ अबेरसम्म प्रदर्शनीस्थलको गेटदेखि सबै स्टल तथा कार्यक्रमस्थलमा भरिभराउ देखिएको थियो ।
पुस ३ गतेदेखि शुरु भएको प्रदर्शनी १७ गतेसम्म चल्ने भएकाले बिहीबार दोस्रो बिदाको दिन परेकाले पनि यति धेरै अवलोकनकर्ता आएको आंकलन आयोजकको छ । संघका कोषाध्यक्ष विशाल वेल्वासेले बिहीबार एकैदिन ६० हजार अवलोकनकर्ता प्रदर्शनी स्थलमा प्रवेश गरेकाले सबै क्षेत्रमा व्यवस्थापनको चुनौती भएको बताए ।
प्रदर्शनी प्रबन्धक यादव भण्डारीका अनुसार बिहीबार दिनभर र साँझ अबेरसम्म टिकट काउन्टरदेखि स्टललगायत कार्यक्रमस्थलमा सहभागीको व्यवस्थापन गर्न चुनौती भएको थियो । ‘एकैदिन धेरै अवलोकनकर्ता आउनुभयो, हिजोअस्तीको तुलनामा एकैपटक ठूलो संख्या भएकाले व्यवस्थापनमा समस्या भएको हो तर थप जनशक्ति व्यवस्थापन गरेर चलायौं, दिनभर र राति अबेरसम्म स्टलधनीहरुको पनि राम्रो कारोबार भयो, पर्यटन व्यवसायीहरुकहाँ त टेक्ने ठाउँ नै थिएन, अरु स्टलहरुमा पनि ठूलो संख्यामा सहभागी भएर समस्या भयो, बालउद्यानमा पनि उस्तै चापले समस्या देखियो तर पूर्वतयारीमा रहेकाले यसको व्यवस्थापन गर्न सकियो’ उनले भने ।
सचिव मन्जु भुसालका अनुसार नियमित काउन्टरभन्दा बाहिर पनि बिहीबार दिनभरजसो अलग्यै काउन्टर राखेर बिक्रीको व्यवस्थापन गरिएको थियो । उनका अनुसार दिनभरजसो सबै काउन्टरमा थेगिनसक्नु भीड भएकाले अलग्यै ठाउँमा काउन्टर राखेर करिब ८ हजार टिकट बिक्री भएको र नियमित काउन्टरहरुमा राती अबेरसम्म टिकट बिक्री भएको थियो ।
बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामा करिब एक लाख अवलोकनकर्ता पुगेका थिए भने ८ करोडको कारोबार भएको थियो । बिहीबार एकैदिन थपिएको ठूलो संख्याको अवलोकर्ता र बिक्रीको आधिकारिक विवरण संकलन भइनसकेको भएपनि कारोबारको अंक पनि अहिलेसम्मको धेरै भएको संघका द्वितीय उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन समितिका संयोजक युवराज आचार्यले बताए । यो प्रदर्शनीमा ंस्वदेशी उत्पादनहरुका स्टल मात्रै रहेका छन् ।
संघका कोषाध्यक्ष विशाल बेलवासेले प्रदर्शनीको पहिलो सातामै करिब १ लाखभन्दा बढी अवलोकनकर्ता आएको र ८ करोड हाराहारीमा कारोबार भएको जानकारी दिए ।
पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो ।
बिहीबार दिनभर घाम लागेको र मौसमले पनि साथ दिएकाले अवलोकनकर्तालाई सहज भएको देखिएको थियो ।
महासचिव सुमन बस्यालले प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तक्र्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिरहेको जानकारी दिए ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताए ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रचार प्रसार संयोजक किरण खरेलले बताए । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका प्रतियोगिताहरु समेटिएको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिए ।
प्रदर्शनीमा यसअघि कृषिमा विषादीको प्रभावका विषयमा विज्ञहरुबीच छलफल गराइएको छ भने शुक्रबार पर्यटन क्षेत्रका विज्ञहरुसँग छलफल कार्यक्रम राखिएको गोष्ठी तथा सेमीनार उपसमिति संयोजक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारुले प्रदर्शनीको अवलोकन गरेका थिए ।
भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद
भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा आएको टोलीले प्रदर्शनीको अवलोकन तथा अन्तरक्रिया गरेको छ ।
प्रदर्शनीको तयारीका क्रममा उद्योग संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीको नेतृत्वमा संघको टोलीले भारतको उत्तर प्रदेशका विभिन्न शहरहरुमा रहेका औद्योगिक क्षेत्रका संस्थाहरुलाई भ्रमणको निमन्त्रणा गरेको थियो । सोही क्रममा यसअघि गोरखपुरको औद्योगिक क्षेत्रको एक टोलीले प्रदर्शनीको अवलोकन गरिसकेको थियो । बिहीबार गीडा औद्योगिक क्षेत्रका उद्योगीहरुको टोलीलाई प्रदर्शनीको अवलोकन तथा दुवै क्षेत्रमा उद्योगी व्यवसायीहरुलाई सहज बजार प्रबन्धनका विषयमा अन्तरक्रिया गरिएको प्रदर्शनीका प्रचार संयोजक ई किरण खरेलले जानकारी दिए ।
बिहीबार प्रदर्शनीमा देखिएको ठूलो उत्साहलाई देखेर भ्रमण टोलीमा आएका भारतीय उद्योगीहरु निकै खुसी भएको र नेपालमा उद्योगको साथै प्रर्यटन प्रवद्धर्नमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको संघका कार्यसमिति सदस्य अखिलेश कसौधनले जानकारी दिए ।
बिहीबारको भ्रमणमा गीडा औद्योगिक क्षेत्रको नेतृत्व गरेर आउनुभएका गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीले आफूले सोचेभन्दा निकै धेरै उत्साह नेपाली उद्योगी र अवलोककर्तामा पाएको बताए ।
‘हामीले भारतमा बस्दा केही नेपाली साथीहरुसँग मात्रै कुरा भएको थियो तर एकै प्रदर्शनीमा यति धेरै सहभागिता देखेर हामीले त नेपालमा ठूलो उद्योग र पर्यटनको संभावना देखेका छौं, हामी अब सहकार्य गरेर जानसक्छौं, धेरै क्षेत्रमा सहकार्यका आधार यो भ्रमणले देखायो, निकै खुसी छौं’ उनले भने ।