© २०२३
गृहमन्त्री भएपछिको पहिलो निर्णयमा हस्ताक्षर गर्दै रबि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाएका छन । उनको पहिलो प्रतिवद्धताले मुलुकमा शान्ति सुरक्षाको प्रभावकारीतासंगै आम नागरिकले न्यायको अनुभूति गर्ने केही आशा र विश्वास पलाएको छ । यद्यपि निर्मला पन्त आज यो संसारमा छैनन तर उनको आत्माको शान्तिका लागि पनि हत्यामा संलग्न दोषी उम्किन पाउनु हुँदैन । निर्मलाको परिवारले आफ्नी छोरीको हत्यारा पत्ता लगाउन अहिलेसम्मपनि विभिन्न दवावमूलक आन्दोलन गरिरहेका छन । दवावकै बीच निर्मला हत्याकाण्डमा संलग्नमाथि कारवाही गर्ने भन्दै यसअघिका गृहमन्त्रीले हत्याकाण्ड छानविन गर्ने प्रतिवद्धता जनाएकै हुन । वर्तमान प्रहरी महानिरिक्षकले समेत निर्मला पन्त हत्या प्रकरण पत्ता लगाउने अठोट गरेका छन । निर्मला जस्ता अन्य धेरै चेलीको पनि निर्मम हत्या भएको छ । तीमध्ये हत्यामा संलग्न कति अपराधी पक्राउ परे र कतिले सजाय पाएका छन । आज ती सवै निर्मलाको हत्याको फाईल खुल्नुपर्दछ । जेहोस ढिलै भएपनि निर्मलाको पक्षमा न्याय हुने आशा पलाएको छ । गृहमन्त्री र प्रहरी महानिरिक्षक दुवैको प्राथमिकतामा यो विषय परेको छ । निर्मला पन्तको हत्यामा संलग्न दोषीमात्रै पक्राउ परेर सजाय पाएको अवस्थामा रबि लामिछाने सफल हुनेछन् । विगतमा निर्मला पन्तको बलात्कार र हत्यापछि राज्यको जिम्मेवार निकायले गंभीर ढंगले दोषी पत्ता लगाउन र कारवाहीमा ढिलाई तथा वेवास्ता गर्दा यो घटना अहिलेसम्म रहस्यमय वनेको हो भन्दा अत्युक्ति हुँदैन ।
निर्मला पन्त अन्याय र अत्याचारको बोझमा पिल्सिएकी एक सम्मानित प्रतिनिधि पात्र हुन् । उनको हत्याको सेरोफेरोमा थुप्रै हत्याहरु भएका छन् । प्रहरी हिरासतमै पनि कैयौं चेलीले ज्यान गुमाएका छन । उनको बलात्कारको सेरोफेरोमै अन्य कयौँ नेपाली चेली बलात्कृत भएका छन तर मरणोपरान्त भएपनि अन्याय विरुद्धको न्यायको लडाइको केन्द्रमा निर्मला पन्त रहेकी छन् भन्ने आज पुष्टी भएको छ । निर्मला पन्त नरहेपनि उनको हत्याको श्रृंखला र घटनाका कारकको खोजी हुनु जरुरी थियो । कम्तिमा निर्मला पन्तको पक्षमा न्याय हुन्छ कि भन्ने आशा जागृत भएको छ । आजपनि निर्मला पन्तका पिता न्यायको खोजीमा प्रहरी प्रशासनको ढोका ढकढकाउँदै छन । उनलाई ‘दिमागी’ सन्तुलन गुमाएका व्यक्तिको रुपमा चित्रित पनि गरियो । वास्तवमा यो अत्यन्त क्रुर र दुःखद टिप्पणी थियो । नेपाली समाज कतिसम्म निर्दयी छ भन्ने कुरा निर्मलाका पिताप्रतिको टिप्पणी नै काफी छ । भन्नैपर्दछ– बलात्कारपछि हत्यामा संलग्न दोषीमाथि कारबाही गर्न पहिलेका सरकार उदासीन भएकै हुन । यो नृशंस घटनामा संलग्न दोषी ठूलै राजनैतिक शक्तिकेन्द्र नजिक रहेको आशंका गरिएको हो । त्यति नै बेला दोषी पत्ता लाग्ने थुप्रै दसी प्रमाण थिए र ती सवै नष्ट गरिएको प्रहरीको प्रारम्भिक रिपोर्टले यो घटनामा संलग्न दोषी ठूलो शक्तिकेन्द्र नजिक भएकोले अहिलेपनि पक्राउ नपर्ने हो कि भन्ने चिन्ता छ । तर, न्याय मर्दैन कि भन्ने गृहमन्त्रीको पछिल्लो प्रतिवद्धताले आशा पलाएको छ । अन्ततः जनताकै दवावमा ढिलै भएपनि निर्मला पन्त हत्या प्रकरण फेरी चर्चामा छ । अहिले यो घटनालाई केवल चर्चामा मात्र होइन दोषी पत्ता लगाएर कानुनी कठघरामा उभ्याउने काममा गृहमन्त्री रबि लामिछानेलाई सफलता मिलोस् । अनिमात्र उनीप्रति जनताले पहिलो चरणमै गरेको विश्वास र भरोसा प्रमाणित हुनेछ । जेहोस गृहमन्त्रीले पुरानो फाईल खोल्ने र कारवाहीको अन्तिम किनारसम्म पुग्ने जुन हिम्मत देखाएका छन त्यसको प्रशंसा गर्नैपर्दछ । त्यसमा गृह प्रशासन सफल रहोस भन्ने आम नेपालीको प्रार्थना छ । कुनैपनि नेपाली चेली न्याय नपाएर प्रताडित हुन नपरोस् । निर्मला पन्तको नियति कसैले पनि भोग्नु नपरोस् ।