© २०२३
बुटवल, ८ पुस ।
नेपाल राष्ट्रबैंकमा कार्यरत वरिष्ठ कर्मचारी राजेन्द्र भट्टराई कार्यकारी निर्देशकमा बढुवा भएका छन् । नेपाल राष्ट्रबैंक कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ५२ बमोजिम सम्भावित निर्देशकहरू मध्येबाट विनियम ६५ को उपविनियम (२) अनुसार उनलाई प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा गरिएको हो ।
बढुवा हुनुअघि भट्टराई निर्देशक (अधिकृत प्रथम श्रेणी) पदमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा लामो अनुभव बोकेका उनले नेपाल राष्ट्रबैंकभित्र नियमन, सुपरभिजन तथा कानुनसम्बन्धी क्षेत्रमा विज्ञको रूपमा काम गर्दै आएका छन् । नीति निर्माणदेखि बैंक तथा वित्तीय संस्थाको अनुगमनसम्म उनको भूमिका प्रभावकारी मानिँदै आएको छ ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–बल्कोट स्थायी घर भएका भट्टराईले राष्ट्रबैंकको सेवा प्रवेश सहायक तह बाट सुरु गरेका हुन् । तल्लो तहबाटै संगठनभित्र निरन्तर मेहनत, क्षमता र नेतृत्व कौशलका कारण उनी उच्च तहसम्म पुग्न सफल भएका कर्मचारीहरू मध्ये एक हुन ।
नेपाल राष्ट्रबैंकभित्र उनलाई अनुशासित, स्पष्ट निर्णय गर्न सक्ने र संस्थागत सुधारमा प्रतिबद्ध प्रशासकका रूपमा चिनिन्छ । यही कारण उनको कार्यकारी निर्देशकमा बढुवा संस्थागत निरन्तरताका साथै व्यवस्थापकीय सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
यसैबीच, आगामी फागुन–चैत महिनामा नेपाल राष्ट्रबैंकमा नयाँ डेपुटी गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुने तयारीमा छ । कार्यक्षमता, अनुभव र संस्थागत योगदानका आधारमा राजेन्द्र भट्टराई सो पदका लागि पनि प्रवल दावेदारका रूपमा हेरिन थालेका छन् ।