© २०२३
दाङ, ६ पुस ।
दाङको घोराही उपमहानगरपालिका–१३ मा अवस्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। सुन्दर प्राकृतिक दृश्य, धार्मिक महत्व र सहज यातायातका कारण यहाँ घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ।
बाह्रकुने दह १२ वटा कुनाहरूमा फैलिएको प्राकृतिक संरचनाका कारण ‘बाह्रकुने’ नामले चिनिएको हो। मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो दह लुम्बिनी प्रदेशकै नमुना दहको रूपमा परिचित छ। धार्मिक तथा पवित्र स्थलका रूपमा समेत मानिने बाह्रकुने दहमा बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुने क्षेत्रमा वास गरेको भन्ने किम्बदन्ती प्रचलित छ।
तुलसीपुर उपमहानगरपालिका–६ की सबिता शर्मा साथीहरूसँग वनभोजका लागि बाह्रकुने दह आएकी थिइन्। उनले घोराहीको बाह्रकुने पहिलो पटक अवलोकन गर्न पाउँदा निकै रमाइलो अनुभव भएको बताइन्।
“यहाँ वनभोज खाने, नाचगान गर्नेको बाक्लो उपस्थिति रहेछ,” उनले भनिन्, “मन्दिर वरिपरिको वातावरण शान्त र रमणीय छ। मन्दिर नजिकै रहेको तालमा डुङ्गा सयर गर्दा झनै आनन्द आयो।”
त्यस्तै, घोराही उपमहानगरपालिका–१५ की मिना पोखरेल शनिबार विद्यार्थीहरू लिएर बाह्रकुने दह पुगेकी थिइन्। “घोराही बजार नजिकै रहेको र यातायात सुविधा सहज भएकाले बिदाका दिन यहाँ पर्यटकको ठूलो भिड लाग्ने गरेको छ,” उनले बताइन्।
बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष देवबहादुर घर्तीका अनुसार मङ्सिरदेखि माघसम्म बाह्रकुने दहमा भक्तजनको आवागमन बढ्ने गर्दछ। विशेषगरी माघे संक्रान्तिको दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ।
“यहाँ बर माग्न आउने भक्तजनको संख्या धेरै हुन्छ,” उनले भने, “निःसन्तान दम्पती सन्तान प्राप्तिको कामनासहित यहाँ आउने गर्दछन्। माघे संक्रान्तिमा अन्य समयभन्दा निकै बढी भीडभाड हुने गर्छ।”
उनका अनुसार बाह्रकुने दहमा १२ वटा आकारमा निर्मित प्राकृतिक ताल रहेका छन्। धार्मिक परम्पराअनुसार यहाँ भेँडा र भालेको बली दिइने तथा परेवा उडाउने चलन रहेको छ।
बाह्रकुने दहको उत्तरतर्फ अवस्थित ज्यामिरे दहलाई विस्तार गरेपछि त्यहाँ पनि आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आएका बिरजङ पुनका अनुसार बिदाको दिन पर्यटकको संख्या झनै बढ्ने गरेको छ।
“जंगलको बीचमा रहेको सुन्दर तालमा जिल्लाभित्रका साथै बाहिरबाट पनि पर्यटक आउन थालेका छन्,” पुनले भने, “पछिल्लो समय दैनिक सरदर २०० देखि ३०० जनासम्म पर्यटक घुम्न आउने गरेका छन्।”
मङ्सिरदेखि वैशाखसम्म यहाँ सबैभन्दा बढी भिड लाग्ने उनको भनाइ छ। विगत तीन वर्षदेखि डुङ्गा सञ्चालन गर्दै आएका पुनले मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए।
डुङ्गा सयरका लागि प्रति व्यक्ति १०० रुपैयाँ शुल्क लिने गरिएको छ। डुङ्गामा घुम्न १५ देखि २० मिनेट समय लाग्ने गर्दछ।
“सानो पोखरीलाई विस्तार गरेर डुङ्गा सञ्चालन गर्दा पर्यटक तान्न सफल भएका छौँ,” उनले भने, “यससँगै ज्यामिरे दह पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ र स्थानीय व्यापारसमेत फस्टाउन थालेको छ।”
तर, दहको दीगो विकासका लागि विश्रामस्थल, खानेपानीको व्यवस्था, सुरक्षित हिँडडुलका लागि सिँढी निर्माणलगायत थप पूर्वाधार आवश्यक रहेको स्थानीयको भनाइ छ।