Butwal Today

सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न

६ पुष २०८२, आइतबार
अ+
अ-

लमही ,६ पुस ।

लमही नगरपालिका द्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले जनप्रतिनिधिहरूलाई सुशासन, पारदर्शिता र नैतिक जिम्मेवारीका विषयमा प्रत्यक्ष प्रश्न गरेका छन् ।

सार्वजनिक बगैँचामा सम्पन्न कार्यक्रममा सेवा प्रवाहदेखि विकास योजना, राजस्व सङ्कलन र जबाफदेहितासम्मका सवाल खुलेर उठाइएका थिए । कार्यक्रममा सहभागी नगरवासीले नगरपालिकाको कामकारबाही कति पारदर्शी छ ? बजेट विनियोजन र खर्चमा नैतिकता पालना भएको छ कि छैन ?  तथा निर्णय प्रक्रियामा नागरिकको सहभागिता कत्तिको सुनिश्चित गरिएको छ ? भन्ने प्रश्न राखेका थिए ।

युवराज पौडेलले सेवा प्रवाह अझै ढिलो र झन्झटिलो भएको भन्दै सुधारको माग राखे  । ओम भुसालले चोरीका घटना बढेको र बजारको ढल किसानको कुलोमा मिसिँदा समस्या सिर्जना भएको बताए । लोकराज सेढाईले पूर्वाधार विकासमा प्राथमिकता नदेखिएको गुनासो गरे ।

त्यस्तै, दामोदर पाण्डेले राजस्व सङ्कलन र बजेट खर्चमा पारदर्शिता आवश्यक रहेको भन्दै नगर गौरवका योजनामा ध्यान दिन सुझाव दिए । हुतराज अधिकारीले फोहोर व्यवस्थापन प्रभावकारी नभएको उल्लेख गरे भने फनाधर ढकालले नगरपालिकाको वेबसाइटमा सूचना अपडेट नहुनु पारदर्शितामाथिको प्रश्न भएको बताए ।

उठेका प्रश्नको जवाफ दिँदै नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी तथा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले सीमित स्रोत–साधनबिच पनि नगरपालिका सुशासन र जबाफदेहितामा प्रतिबद्ध रहेको बताएका थिए ।

सार्वजनिक सुनुवाइबाट आएका सुझावलाई नीति तथा योजनामा समेटिने प्रतिबद्धता पनि जनाइएको छ । कार्यक्रममा सहभागी ९१ जनालाई समेटेर गरिएको मत सर्वेक्षणबाट नगरको विकासमा पारदर्शिता, नागरिक सहभागिता र नैतिक नेतृत्व अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?