© २०२३
लमही, ६ पुस ।
दाङको पहिचान अहिले कृषि, राजनीति वा भौगोलिकता लगायतका पक्ष मात्रै होइन, ‘बँधिया भाले’ नामक नयाँ ब्रान्डले पनि बनाइरहेको छ ।
थारु समुदायमा पुरानै चलन रहेको कुखुराको भालेलाई बँधिया बनाउने परम्परालाई अहिले देउखुरीका किसानहरूले व्यावसायिक रूपमा विस्तार गर्दै मनग्ये आम्दानी गर्न थालेका छन् ।
देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलजंग सिंह ठकुरीले बँधिया भाले व्यवसायलाई सङ्गठित र आधुनिक रूपमा अघि बढाएका छन् । उनले बुह्रान बहुउद्देश्यीय कृषि फर्ममार्फत वार्षिक करिब एक हजार बँधिया भाले उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएका छन् ।
होलसेलमा प्रतिभाले तीन हजार पाँच सय र फुटकरमा चार हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यसले वार्षिक करिब ३५ लाख रुपैयाँसम्मको कारोबार हुने ठकुरीको अनुमान छ । अण्डाबाट चल्ला निकाल्ने काम हेचरीमा हुन्छ भने हुर्काउन छुट्टै फर्म रहेको छ ।
चल्ला परिपक्व भएपछि तीन दशकभन्दा बढी क्षेत्रमा फैलिएको प्राकृतिक चरण क्षेत्रमा छाडिन्छ, जहाँ छ महिनापछि भाले बिक्रीका लागि तयार हुन्छन् । दाङका विभिन्न स्थानमा पछिल्लो समय बँधिया भाले पालन तीव्र रूपमा विस्तार भइरहेको छ ।
लमही नगरपालिका–६ खैरीका युवा उद्यमी महेश चौधरीले पनि विगत छ वर्षदेखि व्यावसायिक रूपमा यसै व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । ५० भालेबाट सुरु भएको चौधरीको फर्ममा अहिले तीन सयभन्दा बढी बधिया भाले तयारी अवस्थामा छन् ।
उहाँले हालसम्म दुई–तीन हजार भाले बधिया बनाइसकेको बताउँदै आफ्नो सीप र परिश्रमले राम्रो उत्पादन तथा बजार विस्तार सम्भव भएको बताए ।
बँधिया भालेको तौल सामान्यतया दुईदेखि साढे दुई किलोसम्म हुने गर्दछ । देशका प्रमुख सहरमा यसका परिकारको माग बढिरहेको छ । पाहुनाको स्वागतका लागि ‘बँधियाको मासु’ पस्कने चलनले समेत बजारलाई थप मजबुत बनाएको व्यवसायीहरूको भनाइ छ ।