© २०२३
यो कथाको आरम्भ त्यति बेला हुन्छ जब ब्रह्माण्डमा सत्य र असत्यबिचको सङ्घर्षले चरम रूप लिएको थियो ।
१. हिरण्याक्षको प्रकोप र वराहको उद्धार
ब्रह्माण्डमा अन्धकार छाएको थियो । दानवहरूको घोर अत्याचार बढिरहेको त्यो कालखण्डमा, महाशक्तिशाली हिरण्याक्षले आफ्नो बलको घमण्डमा सम्पूर्ण पृथ्वीलाई नै दबाएर क्षीर सागरको अथाह जलमुनि डुबाइदिए । पृथ्वीको क्रन्दनले देवताहरूको मन व्यथित भयो र मानव जीवन कष्टकर बन्यो । सृष्टिमा आएको यो भयानक सङ्कट टार्नका लागि, पालनकर्ता भगवान् विष्णुले वराह (बँदेल) को विराट् र शक्तिशाली रूप धारण गर्नुभयो । उहाँको शरीरको गर्जनले पातालका जलमा ठूलो कम्पन भयो र उहाँले हिरण्याक्षसँग भीषण युद्ध गर्नुभयो । अन्ततः हिरण्याक्षको वध गरि भगवान् वराहले पृथ्वीलाई आफ्नो तीक्ष्ण दाँतमा उठाएर पुनः सुरक्षित स्थानमा स्थापित गर्नुभयो । यो कार्यले धर्मको रक्षा त भयो, तर यसले हिरण्याक्षका दाइ हिरण्यकशिपुको मनमा भगवान् विष्णुप्रति घोर प्रतिशोधको बीज रोप्यो ।
२. वरदानको जाल र नृसिंहको प्राकट्य
भाइको वधको बदला लिन हिरण्यकशिपुले कठोर तपस्या गर्याे । उसको तपस्याको अग्नि यति प्रचण्ड थियो कि त्यसबाट उठेको तापले त्रिलोक नै जल्न थाल्यो । ब्रह्माजी प्रकट भएपछि उसले चतुरतापूर्वक वरदान माग्यो न मानव न पशुले, न दिन न रातमा, न भित्र न बाहिर, न पृथ्वी न आकाशमा, र कुनै शस्त्र वा अस्त्रले पनि उसलाई मार्न नसकोस् ।’ यो वरदान पाएपछि उसले आफूलाई त्रिलोकको सर्वोच्च शासक घोषणा गर्दै, भगवान् विष्णुको नाम लिनेमाथि चरम दमन गर्न थाल्यो । तर, भाग्यको लीला विचित्र थियो । उसको आफ्नै पुत्र प्रह्लाद जन्मजात विष्णुभक्त थिए । पिताको क्रूरता, विषपान र मृत्युदण्डको धम्कीका बावजुद प्रह्लादको मुखबाट विष्णुको नाम रोकिएन । क्रोधको अन्तिम सीमामा पुगेर हिरण्यकशिपुले प्रह्लादलाई सोध्यो– तिम्रो विष्णु कहाँ छन ?
प्रह्लादको दृढ उत्तर थियो– “मेरो प्रभु त सर्वत्र हुनुहुन्छ, यो स्तम्भमा पनि हुनुहुन्छ । हिरण्यकशिपुले हाँस्दै स्तम्भमा प्रहार गर्दा, खम्बा चट्ट्याङझैँ फाट्यो र त्यसभित्रबाट नृसिंह (आधा सिंह र आधा मानव) को भयङ्कर स्वरूप प्रकट भयो । नृसिंहले वरदानको सबै शर्तलाई सम्मान गर्दै हिरण्यकशिपुलाई सन्ध्याकालमा, ढोकाको चौखटमा, आफ्नो काखमा राखेर, नंग्राले वध गर्नुभयो ।
३. शारभको उग्रता र दोस्रो सङ्कट
हिरण्यकशिपुको वधपछि नृसिंहको क्रोध अति उग्र भयो । उहाँको गर्जनले सृष्टि काँप्यो । उहाँको शक्ति नियन्त्रणबाहिर गएको देखेपछि देवताहरूले संहारकर्ता भगवान् शिवको आह्वान गरे । भगवान् शिवले नृसिंहको उग्रतालाई वशमा राख्न शारभ (आधा सिंह र आधा चराको रूप) को भयानक स्वरूप धारण गर्नुभयो । शारभ र नृसिंहबीच भयंकर युद्ध भयो । शारभले नृसिंहको उग्र शक्तिलाई शोषण गरी शान्त त पार्नुभयो, तर नृसिंहबाट सोसेको संहारक शक्तिले स्वयं शारभ स्वरूपको क्रोध पनि नियन्त्रणबाहिर हुन पुग्यो । एउटा सङ्कट टार्न आएको शक्ति आफैँ अर्को महाविनाशको खतरा बन्न पुग्यो । उहाँको गर्जन र वितण्डाले सृष्टिमा अस्थिरता बढ्यो ।
४. गण्डभेरुण्डद्वारा शान्ति र सन्तुलनको स्थापना
शारभको अनियन्त्रित उग्रताले देवताहरू फेरि चिन्तित भए । अब संहारकर्ताको क्रोधलाई कसले शान्त पार्ने ? उनीहरू पुनः पालनकर्ता भगवान् विष्णुको शरणमा क्षीर सागरमा योगनिद्रामा लीन उहाँलाई जगाउन पुगे । देवताहरूको प्रार्थना सुनेर, भगवान् विष्णुले शारभको उग्र शक्तिलाई नियन्त्रण गर्न अत्यन्तै शक्तिशाली तर शान्तिको प्रतीकको रूपमा गण्डभेरुण्ड (दुई शिर भएको अकल्पनीय पक्षी) को स्वरूप धारण गर्नुभयो । गण्डभेरुण्डको स्वरूपमा निहित परम सन्तुलन र शान्तिको शक्तिले शारभको सामुन्ने गएर उहाँको उग्रतालाई नियन्त्रण गर्यो । गण्डभेरुण्डको शान्त शक्तिले स्पर्श गर्नासाथ शारभ स्वरूपको क्रोध तुरन्तै शान्त भयो । शारभ स्वरूप शिवको मूल स्वरूपमा विलय भयो र गण्डभेरुण्ड पनि आफ्नो कर्तव्य पूरा गरेर विष्णुमा समाहित हुनुभयो । यसरी, सृष्टिमा अन्तिम सन्तुलन कायम भयो ।
५. कथाको दार्शनिक सारांश
यो पौराणिक महागाथा शक्तिहरूको आपसी निर्भरता र नियन्त्रणको उत्कृष्ट उदाहरण हो । यसमा ब्रह्माले व्यवस्था निर्माण गर्नुहुन्छ, तर विष्णु (नृसिंह) ले त्यस व्यवस्थालाई बचाउन कार्य गर्नुहुन्छ । कथाले के स्पष्ट पार्छ भने, कार्य गर्ने शक्ति (नृसिंहको क्रोध) अनियन्त्रित हुँदा शिव (शारभ) नियन्त्रक÷न्यायपालिकाको रूपमा आउनुहुन्छ तर, यदि नियन्त्रक शक्ति आफैँ अनियन्त्रित भयो भने, त्यसलाई रोक्न परम सन्तुलनका प्रतीक विष्णु (गण्डभेरुण्ड) को हस्तक्षेप आवश्यक हुन्छ ।
यो सम्पूर्ण लीलाले आधुनिक शासन प्रणालीमा प्रयोग हुने शक्ति पृथकीकरण (क्भउबचबतष्यल या एयधभचक) र शक्ति सन्तुलन (ऋजभअपक बलम द्यबबिलअभक) को दार्शनिक आधारलाई पुष्टि गर्छ । ब्रह्माण्डमा कुनैपनि शक्ति असीमित वा एकाधिकार युक्त हुनुहुँदैन । प्रत्येक शक्तिले अर्को शक्तिलाई जाँच (ऋजभअप) गर्नुपर्छ र सन्तुलन (द्यबबिलअभ) मा राख्नुपर्छ । यस कथाको सार हो– अधिकारको सदुपयोग होस्, दुरूपयोग नहोस् र परम लक्ष्य सधैँ शान्ति र सन्तुलन होस् ।’