दाङ, ३ पुस ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय बेड संचालन गरिने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानमा अहिले ३ सय २६ शैया संचालन भएको र आगामी वर्षदेखि चार सय शैया संचालन गरिने बताए ।
प्रतिष्ठानसंगको सहकार्यमा नेपाल पत्रकार महासंघ दाङ शाखाले बिहिबार घोराहीमा आयोजना गरेको कार्यशालामा रजिष्ट्रार लम्सालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्था र चुनौतिको बारेमा प्रष्ट पारे ।
उनले करिब २५ लाख जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरी प्रतिष्ठान स्थापना गरिएको बताए । उनले प्रतिष्ठानलाई अब चार सय शैया संचालनका लागि सबै मापदण्ड पूरा गरेको तर स्रोत सुनिश्चितता नहुँदा संचालन हुन नसकेको पनि बताए ।
यसैगरी प्रतिष्ठानले माघ १ गतेदेखि मुटुको उपचार सेवा प्रदान गर्ने पनि उनले बताए । यस्तै रोल्पाको होलेरी प्राथमिक स्वास्थ्य केन्द्र, दाङको बंगलाचुली अस्पताल, स्युजा स्वास्थ्य केन्द्रमा चिकित्सक खटाउन अध्ययन गरिदै गरेको बताए ।
यस्तै लमहीको ट्रमा सेन्टर चलाउन प्रदेश सरकारलाई प्रस्ताव गरिएको, बिमाको लागि छुट्टै काउन्टर संचालन गरिएको तर भुक्तानीमा समस्या रहेको, प्रतिष्ठानले अतिक्रमित संरचना हटाउने, जेनजी आन्दोलनपछि मनोसामाजिक परामर्श कार्यक्रम संचालन गरेको बताए ।
यस्तै टाढाको बिरामीलाई सहजताका लागि घरमै बसेर टिकट लिन सकिने व्यवस्था गरिन लागेको पनि रजिष्ट्रार लम्सालले बताए । बिरामीले रिपोर्ट पनि घरमै प्राप्त गर्न सकिने र रोल्पा, रूकुमपूर्व, रूकुम पश्चिममा सेवा विस्तार गर्न संभाव्यता अध्ययन गरिन लागेको बताए ।
कार्यक्रममा सह-प्राध्यापक तथा सह- निर्देशक डा.सुरेश रसाइलीले चिकित्सकका लागि आचारसंहिताका बारेमा जानकारी गराएका थिए । कम्युनिटि मेडिसिनका डा. सुलभ रेग्मीले जनस्वास्थ्य र फिजिसियन डा.अजय गौतमले सिकलसेल एनिमियाको बारेमा जानकारी गराएका थिए । स्वास्थ्य विज्ञान प्रतिस्ठानमा सिकलसेलको निशुल्क परिक्षण सुरु भएको बताए ।
नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा सिनेट सभा सदस्य सुदीप गौतमले स्वास्थ्य पत्रकारिताका बिषयमा जानकारी गराएका थिए । अध्यक्ष सन्तोष सुवेदी,उपाध्यक्ष ओपेन्द्र बस्नेत , सचिव जे एन सागर लगायत धारणा राखेका थिए ।