© २०२३
दाङ,२ पुस ।
उपेक्षित उष्णप्रदेशीय रोग सम्बन्धी दाङमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ । उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेको सकेको छैन ।
स्वास्थ्य कार्यालय दाङको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपाल र नेपाल सामुदायिक सेवा केन्द्रको साझेदारीमा सञ्चालित प्रेरणा परियोजना अन्तरगतको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
सरकारले उपेक्षित रोगलाई प्राथमिकतामा राख्न नसक्दा बेला बेलामा जनस्वास्थ्यको समस्याका रूपमा देखा पर्ने गरेको जनस्वास्थ्य कार्यालय दाङका प्रमुख ठग बहादुर गुरुङले बताए ।
जलवायु परिवर्तन र सरकारले बेवास्ता गरेकै कारण नेपालमा उन्मूलन भइसकेको भनिएको हात्तीपाइले,कालाजार, औलोलगायत रोगहरूले जनस्वास्थ्यका समस्याका रूपमा देखिने गरेको बताए ।
स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक अच्युत शर्मा न्यौपानेले लुम्बिनी प्रदेशमा उपेक्षित उष्णप्रदेशीय रोगको वर्तमान अवस्था प्रस्तुत गर्दै आगामी दिनमा गर्नुपर्ने प्राथमिकता, चुनौती र सुधारका क्षेत्रबारे जानकारी गराएका थिए ।
समयमै रोग पहिचान, जनचेतना र उपचारमा पहुँचलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड्दिए । यसको उपचार लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताल बुटवल , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको बताए ।
यी रोगहरू गरिब तथा सीमान्तकृत समुदायमा बढी देखिने भएकाले लक्षित कार्यक्रम आवश्यक रहेको बताए । उनले सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट मात्र कार्यक्रम भइरहेकाले प्रदेश र स्थानीय सरकारले पनि त्यसलाई ध्यान दिनु पर्ने बताए ।
नेपाल सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष विमला योगीले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणमा संस्थाले गर्दै आएका गतिविधिबारे जानकारी गराइन । यी रोग नियन्त्रण गर्नकालागी सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी र समुदायबिच सहकार्य आवश्यक रहेको बताइन ।
त्यसै गरी प्रेरणाका परियोजनाका परियोजना संयोजक विवेक केसीले परियोजनाअन्तर्गत हालसम्म गरिएका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै सञ्चार माध्यमको भूमिका निर्णायक हुने उल्लेख गरे ।
नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुबेदीले सूचना आदान–प्रदान प्रभावकारी भएमा जनचेतना अभिवृद्धि हुने उल्लेख गर्दै, स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई सफल बनाउन सञ्चारकर्मीहरू सहकार्यका लागि सधैँ तयार रहेको बताए ।
कार्यक्रममा जन स्वास्थ्य कार्यालय दाङका क्षरीरोग तथा कुष्ट रोग फोकल पर्सन गजेन्द्र यादव जन स्वास्थ्य कार्यालय दाङका मलेरिया इन्स्पेक्टर कमल चन्द लगायतले धारणा राखेका थिए ।
उपेक्षित कस्तो रोग हो ?
उपेक्षित रोग भन्नाले सामान्यतः सबै तहबाट बेवास्ता गरिएका रोग भनेर बुझिन्छ । उपेक्षित रोग गर्मी देशमा देखिने गर्छ । विश्व स्वास्थ्य सङ्गठनले २१ प्रकारका रोगलाई उपेक्षित रोगको सूचीमा सूचीकृत गरेको छ ।
यी रोगहरूले विश्वव्यापी रूपमा एक अर्बभन्दा बढी मानिसलाई असर पर्ने तथ्याङ्कमा उल्लेख छ । सरुवा रोग विशेषज्ञका अनुसार यी रोगहरू विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले लाग्ने गर्छन् ।
सरसफाइको कमी र रोगबाहेक सङ्क्रामक कीटहरू, घरपालुवा जनावरहरू र पशुहरूसँग नजिकको सम्पर्कमा रहने व्यक्ति, प्रायः जसो गरिबीको रेखामुनि रहेका मानिस बढी जोखिममा रहने चिकित्सक बताउँछन् ।
नेपालमा पाइने ११ वटा उपेक्षित रोगमा डेंगु र चिकेन गुनिया, रेबिज, कालाजार , हात्तीपाइले, कुष्ठरोग, ट्रकोमा, माटोबाट सर्ने जुका, सर्पदंश, लुतो अन्य इक्टोपारासाइट, हात्तीपाइले, फित्ते जुका र न्युरोस्टाइसर्कोसिस, माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसिस र अन्य डीप माइक्रोसेस पर्छन् ।।।