Butwal Today

सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च

२ पुष २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २ पुष ।

सुनको मूल्य आज पनि घटेको छ । गएको सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य हिजो र आज लगातार ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्दै दुई लाख ५९ हजार ७ सय रुपैयाँमा झरेको छ । हिजो मात्रै सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर दुई लाख ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गएको मंसिर २९ गते सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा महँगो मूल्य हो ।

यसैबीच, चाँदीको मूल्य भने आज बढेको छ । प्रतितोला १७० रुपैयाँले वृद्धि भई चाँदीको मूल्य आज चार हजार ५५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यो चाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दु हो ।