© 2026
बुटवल, १ पुस ।
सामाजिक र खेलकुद क्षेत्रमा अग्रसर बुटवलको बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमको एक समारोहका बिच वडा नं ७ का वडाध्यक्ष पदमराज गाहाले उद्घाटन गर्दै सामाजिक गतिविधिसँगै खेल विकासमा संघसंस्थाहरुको योगदानको चर्चा गरे । क्लबबाट स्थापनाको छोटो समयमा नै समुदायमा राम्रा र उत्कृष्ट कामहरू गर्न सफल भएको बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष सुरेन्द्र थापाले क्लबको वार्षिक प्रगति विवरण पेस गर्दै वर्षभरि गरिएका कामको समीक्षा गरि नयाँ योजना बनाएर अघि बढ्ने बताए । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएर फरक पहिचान दिन सफल भएको बताए ।
यस क्षेत्रमा नै महिला फुटबल प्रतियोगिता आयोजना गरेर चर्चामा आएको क्लब थप नयाँ योजनासहित अघि बढ्न सुझाव दिए । कार्यक्रममा कोषाध्यक्ष सुरेश गैरे आर्थिक आयब्याय प्रस्तुत गरे ।
कार्यक्रममा कार्यपालिका सदस्य राधा ज्ञवाली, वडा सदस्य तुल्सी विश्वकर्मा, सिद्घेशेवरी माबिका दिनानाथ गिरि, एशियन थाई फुड्सका सेल्स म्यानेजर दीपक वास्तोला, शिवनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मनोज पुन, सौभाग्य युवा क्लबका अध्यक्ष सुजु मल्लले छरिएर रहेका युवा क्लबका पदाधिकारीहरू सामूहिक योजनामा लाग्नुपर्ने बताए ।
यसैबिच क्लबले आयोजना गरेको विभिन्न कार्यक्रममा सहयोगदाताहरूलाई सम्मानसमेत गरिएको क्लबका सचिव दीपक गुरुङले बताए ।