Butwal Today

संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

१ पुष २०८२, मंगलवार
अ+
अ-

कपिलवस्तु,  १ पुस ।   

विगतमा भएको मधेस, जनजाति र आदीवासीहरुको आन्दोलनमा गरिएको सहमतिका विषयलाई संविधान संशोधन वा पुनर्लेखन मार्फत समेटेर फागुन २१ गतेको निर्वाचनको सुनिश्चितता गर्नु पर्ने माग गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) कपिलवस्तुले तौलिहवामा आयोजना गरेको विरोध प्रदर्शन तथा धर्नामा सो माग राखिएको हो ।

जसपा नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी नेता कार्यकर्ताले पार्टी कार्यालयबाट प्रशासन चोक, गौडी चौक र चोक बजार हुँदै प्रशासन चोक सम्म र्‍याली गरि कोणसभाको आयोजना गरेका थिए ।

सो क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागु, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु, निर्वाचन क्षेत्रको पुर्न निर्धारण, आन्दोलनका बेलाको न्यायिक छानबिन समितिको प्रतिवेदन सार्वजनिक, जेएनजी आन्दोलनका माग पुरा गर्नु पर्ने र किसानका समस्या समाधान गर्नु पर्ने माग गर्दै नाराबाजी गरिएको थियो ।

यस अघि जिल्ला प्रशासन कार्यालय मार्फत आफ्ना माग समेटिएका २८ बुँदे ज्ञापन पत्र प्रशासनमा बुझाएको पार्टीले धर्ना, निर्वाचन क्षेत्र केन्द्रित विरोध सभा र जिल्ला स्तरमा विरोध सभा तथा धर्नाको आयोजना गरेको हो ।

जसपाले आफ्नो माग पुरा गराउन आन्दोलन सँगै निर्वाचन सफल बनाउन भूमिका खेल्दै आएको पार्टीका नेता कार्यकर्ताको भनाई थियो । संविधान संशोधन वा पुनर्लेखन गरि मधेसी, जनजाति र आदिवासीको माग पुरा गरेर समयमै निष्पक्ष र भयरहित निर्वाचनको सुनिश्चितता गराउनका लागी आफूहरूले आफ्ना माग सहितको विरोध कार्यक्रमको आयोजना गरेको जसपा नेपाल कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए ।

“हामी फागुन २१ गतेको निर्वाचन सफल बनाउने पक्षमा छौँ । सरकारले विगतको आन्दोलनका माग सम्बोधन गरि निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउनु पर्छ ।” उनले भने । आफूहरूको आन्दोलन साङ्केतिक रहेको र एक हिसाबले निर्वाचनको तयारी समेत रहेको बुझन आग्रह गर्दै आफ्नो पार्टी देशलाई स्थायी निकास दिन निर्वाचन सफल बनाउने पक्षमा रहेको उनले स्पष्ट पारे ।

निर्वाचन सफल भएरै छाड्ने र आफ्ना माग पुरा गरेर निर्वाचन सफल बनाउने वातावरण बनाउन पार्टी नेता निसार अहमद खाँले सरकार सँग माग गरे । पछिल्लो समयको घटना क्रमले भ्रष्टाचारमा न्यायालयको संलग्नता देखिएको उनले आरोप लगाए ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको ठुलो भ्रष्टाचार काण्डका आरोपी न्यून धरौटीमा छुट्नुले न्यायालयको विश्वसनीयतामा प्रश्न उठेको उनले बताए । न्यायालयमा भागबन्डा र ठुला दलको निरङ्कुशताका कारण जेएनजी आन्दोलन भएकाले विगतको आन्दोलनको माग समेटेमा मात्रै निर्वाचनको सही वातावरण बन्ने पार्टी नेता राम निवास यादवले बताए ।

विरोध कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अब्दुल रसिद खाँ, साधिका यादव, पार्टी नेता मोहम्मद जाहिद खाँ, जिल्ला उपाध्यक्ष अहमद अलि खाँ, सचिव शिवलाल यादव लगायतले प्रतिनिधि सभा नरहेको हालको अवस्थामा राष्ट्रियसभा मार्फत विगतका आन्दोलनको माग सम्बोधन गरि संविधान संशोधन वा पुनर्लेखन गर्नु पर्नेमा जोड दिएका थिए ।