Butwal Today

अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

१ पुष २०८२, मंगलवार
अ+
अ-

नेपालगन्ज, १ पौष ।

अटिजम भएका व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि नियमित दिनचर्या अत्यन्त आवश्यक हुने बताइएको छ ।

अटिजम भएका व्यक्तिका अभिभावक तथा हेरचाहकर्तालाई लक्षित नेपालगन्जमा सञ्चालन भएको दुई दिने सीप विकास तालिममा सहभागीहरूले उक्त धारणा व्यक्त गरेका हुन् । अभिभावकको सक्रिय सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ ।

सकारात्मक वातावरणले अटिजम भएका व्यक्तिको विकासमा ठुलो भूमिका खेल्ने उनीहरू बताउँछन् । अभिभावकहरू सचेत, धैर्यवान् र सकारात्मक भए अटिजम भएका बालबालिकाको व्यवहार नियन्त्रण र विकास सम्भव हुने सरोकारवालाको धारणा छ ।

तालिम नेपालगन्ज स्विमिङ क्लबले आकार फाउन्डेसन मोरङको सहयोगमा आयोजना गरेको थियो । तालिम लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र यूथसँगको सहकार्यमा सञ्चालन गरिएको हो ।

अटिजम भएका व्यक्तिलाई सबैभन्दा आफ्नै अभिभावकको आवश्यकता बढी हुने बताइएको छ । तालिमका सहजकर्ता तथा आकार फाउन्डेसनका निर्देशक मनोविद् प्रिसिमा थापा (असिमा) ले परिवारको पर्याप्त समय र मायाबाट नै उनीहरूको हेरचाह सम्भव हुने बताइन् ।

अटिजम भएका व्यक्तिलाई निश्चित दिनचर्यामा राख्नु आवश्यक हुने उनले बताइन् । सरल भाषा प्रयोग गरी बुझाउन खोज्नुपर्नेमा उनले जोड दिइन् । तनावरहित वातावरण सिर्जना गर्नु अत्यन्त जरुरी हुने उनको भनाइ छ ।

अभिभावकले कराउने वा दबाब दिनेभन्दा पनि प्रोत्साहन र माया देखाएर व्यवहार सुधारमा सहयोग पु¥याउनुपर्ने सुझाव थापाले दिएकी छन् । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट तथा पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँले अटिजमका घटना बढ्दै गएको बताए ।

रोकथामका लागि अभिभावकले सन्तानलाई समय दिनुपर्ने उनले उल्लेख गरे । ग्याजेटमा निर्भरता घटाउनुपर्नेमा उनले जोड दिए । व्यस्त जीवनशैलीका कारण बालबालिकासँग संवाद र समय घट्दै गएको उनले बताए । ग्याजेटको भरमा बच्चा हुर्काउँदा समस्या थप बढ्ने चेतावनी पनि उनले दिए ।

नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले अटिजमको समस्या बढ्दै गएको बताए । सामाजिक उत्तरदायित्वका रूपमा तालिम आयोजना गरिएको उनले जानकारी दिए ।

सोमवारदेखि सुरु भएको तालिममा बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रका करिब ५० भन्दा बढी अटिजम भएका व्यक्ति, अभिभावक तथा हेरचाहकर्ताको सहभागिता थियो ।