Butwal Today

दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ

१ पुष २०८२, मंगलवार
अ+
अ-
बर्दिया, १ पुस ।
पती र वडा अध्यक्षले जन्म दर्ता र नागरिकता नबनाई आत्महत्या गर्न बाध्य बनाइएका बाबु र छोरीको मुद्दाका आरोपित अनिल थारु पक्राउ परेका छन् ।
उनलाई प्रहरीले भारतबाट झिकाएर पक्राउ गरेको हो । उनी घटनापछि भारतमा लुकीछिपी बसेका थिए । घटनापछि अन्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । उनलाई पक्राउ गर्न अदालतबाट अनुमति लिइएको थियो ।
बर्दियाको बढैयाताला गाउँपालिका वडा नम्बर ४ की २२ बर्सिया अन्जु थारुले गाउँकै अनिल थारुसँग बिहे गरेकी थिइन । अन्जुले श्रीमान् विरुद्ध अंश मुद्दा दर्ता गरेकामा अदालतले अंश दिने फैसला गरे पनि नागरिकता नभएका कारण अंश पाउन सकेनन् । नागरिकता नहुँदा उनकी छोरीको जन्म दर्ता हुन सकेन ।
अदालतले अंश दिन आदेश गरे पनि वडा कार्यालयले नागरिकताको सिफारिस गरेन । आमाको नामबाट सन्तानको जन्म दर्ता हुनसक्ने कानुनी व्यवस्था भए पनि अञ्जुले सात वर्षकी छोरीको जन्म दर्ता गर्न सकिन्न । स्थानीय तह र प्रशासनबाट निरन्तर असहयोग भएपछि अन्जुले माइतीमै गत कात्तिक २२ आत्महत्या गरेकी थिइन ।
अन्जु  ले आत्महत्या गरेको चार दिनमै छोरीको मृत्युको शोकमा रहेकी ६१ वर्षीय बाबु कान्छा थारुले पनि आत्महत्या गरे । जन्म दर्ता र नागरिकता सिफारिस नदिने वडा अध्यक्षमाथि उजुरी गरिएको छैन ।
बर्दिया बढैयाताल गाउँपालिका ४ दक्षिण भकारीका आमा र नानाले ज्यान गुमाएको एक महिनापछि बालिका अनिता थारुको जन्म दर्ता बनेको छ । नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिको रोहबरमा उनको जन्म दर्ता बनेको हो ।
समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरूसहितको टोली बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको थियो ।
छानबिन समितिको सहयोगमा मृतक अञ्जु थारुकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता र आमा अञ्जुको मृत्यु दर्ता भएको छ । समिति सदस्य कुलशेखर अर्यालका अनुसार टोलीले घटनास्थलमा आएर पीडित परिवारलाई सहजीकरण र घटनाका बारेमा छानबिन थालेको छ ।
सो घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले यही मङ्सिर २१ गते सहसचिव पन्थीको संयोजकत्वमा, उपसचिव अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेको समिति गठन गरेको थियो ।