© २०२३
पश्चिम नवलपरासी, १ पुस ।
पश्चिम नवलपरासीको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले २० लाख बराबरको अवैध कफीका दाना बरामद गरेको छ ।
सरावल गाउँपालिका–७ गणेशपुर स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट आज बिहान साढे चार बजे अवैध रूपमा नेपाल भित्र्याउन लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । ट्याक्टरमा लोड गरेर ल्याउने क्रममा अवैध ओसारपसारमा संलग्न भने फरार भएको प्रहरीले जनाएको छ ।
प्रत्येक बोरामा ६० किलोका दरले ३४ वटा बोरामा २ हजार ४० किलो कफीका दाना रहेको सशस्त्र प्रहरी बल, २६ नम्बर गण हेडक्वाटर नवलपरासीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द केसीले जानकारी दिए ।
उक्त कफीको मूल्य २० लाख ४० हजार र ट्याक्टरको मूल्य ८ लाख गरी २८ लाख ४० हजार बराबरको समान महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा विभिन्न सामाग्री नेपाल तर्फ भित्रने गरेको छ । मोबाइलका विभिन्न सामग्री, खाद्य वस्तु लगायत सेटिङमा तस्करी हुने गरेको भएपनी पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरीको सक्रियता कम देखिएको स्थानीयको गुनासो छ ।