© २०२३
सल्यान, ०१ पुस ।
सल्यानमा चार हजार बढी भूकम्प पीडित मध्ये १ हजार २ सय ११ घरको विस्तृत क्षति आङ्कलन भएको छ ।
भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि अस्थायी टहरामै बस्न बाध्य सल्यानका भूकम्प पीडितहरूको बल्ल क्षति आङ्कलन सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आइतबारसम्म एक हजार २११ निजी आवासको विस्तृत क्षति आङ्कलन गरिएको हो ।
२०८० कार्तिक १७ गतेको जाजरकोट भूकम्पबाट सल्यान दार्मामा चार हजार ८१, कुमाखमा १२९, त्रिवेणी गाउँपालिकामा १२ र बागचौर नगरपालिकामा १५२ भौतिक संरचना क्षति भएको थियो ।
आइतबारसम्म दार्मामा एक हजार ८४, कुमाखमा ६६, बागचौरमा ५८ र कुमाखमा ३ घरको क्षति आङ्कलन सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।
जाजरकोट र रुकुमलाई मात्र भूकम्प प्रभावितको मुख्य प्राथमिकतामा सरकारले पारेको र सल्यानलाई चासो नदिएको कारण विस्तृत क्षति आङ्कलन तथा विवरण सङ्कलनमा ढिलाइ भएको स्थानीय तहहरू बताउँछन् ।
भूकम्पपछिको पुनर्निर्माणका लागि प्राधिकरण पोर्टलमा प्रविष्टि भएका आफ्नो गाउँपालिकाका चार हजार ८१ घरकै क्षति आङ्कलनको लागि प्राविधिक टोली पीडितहरूको घरघरमा पुगिरहेको भन्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले सही सूचना दिएर सहयोग गर्न अनुरोध गरेका छन् ।
दार्मामा १२ जना प्राविधिक कर्मचारीहरू विवरण सङ्कलनका लागि खटिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पालिकाका प्राविधिकलाई तालिम दिएको छ । तिनै प्राविधिक टोली क्षति सङ्कलनमा खटिएका छन् ।
स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय सल्यानको निरन्तरको प्रयासपछि सल्यानमा दुई वर्षपछि काम सुरु भएको हो । चिसो, गर्मी, अन्य त्रासका साथ अस्थायी टहरामा दिन कटाइरहेका भूकम्प पीडितहरूमा बल्ल अब नयाँ घर बन्छ कि भन्ने आशा पलाएको छ ।