Butwal Today

पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो 

१ पुष २०८२, मंगलवार
अ+
अ-

नवलपरासी, ०१ पुस ।

जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न चासो देखाएको छ ।

आयोगको कार्यालय बुटवलले अस्पतालको नाममा पत्राचार गरि सो अनियमितताबारे विवरण माग गर्दै चासो देखाएका हो । गत कार्तिक महिनामा अस्पतालमा रहेका उपकरण औजार, मेसिनरीहरूको अवस्थाको लगत विवरण तयार पार्नका लागि अस्पतालका अध्यक्ष जगदीश चौधरीले जिम्मेवारी नै तोकेर काम गर्न थाले पछि अस्पताल भित्र विगतमा भएका विभिन्न अनियमितता र भ्रष्टाचारका कुरा बाहिर आउन थालेका छन् ।

लामो समयदेखि अस्पतालमा पटक पटक मेडिकल सुपरिटेण्डन्ट भई प्रशासन चलाउँदै आएका डा.नुरुल होदा सहित तत्कालीन अवस्थाका अस्पतालका व्यवस्थापक, प्रशासनका कर्मचारीको मिलेमतोमा विभिन्न क्षेत्रमा गैर कानुनी र अनियमितता कार्य भएको सदस्य बाहिर आउन लागेको अस्पतालका कर्मचारीहरूले एक आपसमा कानेखुसी गर्न थालेका छन् ।

अख्तियारले नै यदि विस्तृत रूपमा छानबिन अनुसन्धान ग¥यो भन्ने को–को पर्ने हुन ? त्यसबारे पनि कर्मचारीहरूमा चर्चा परिचर्चा दिनहुँ भइरहेको छ ।  यता अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश ढकालले अस्पतालको लिफ्टमा लगायतका भवनबारे जवाफ माग गरि अख्तियारको पत्र आएको र सो भवन निर्माणको कार्य अस्पतालले गराउनु भन्दा भवन पूर्वाधार कार्यालयको जिम्मेवारी रहेको बताए ।

जवाफमा पनि अस्पतालले तिनै कुरा उल्लेख गरेर पठाइदिइने उनले प्रतिक्रिया दिए । विगतमा भएका करोड बढीको अनियमित कार्य भएको आरोपबारे आन्तरिक अनुसन्धानमा अस्पताल प्रशासनले काम गरिरहेको छ ।

अस्पताल अनियमिततामा व्यवस्थापन, प्रशासन मात्रै नभई मन्त्रालय तथा निर्देशनालयसम्म पहुँचले भएको अस्पतालका कनिष्ठ कर्मचारीहरूले आशङ्का गरेका छन् । जसमा सबै भन्दा बढी हतार हतारमा अस्पतालको नयाँ भवन हस्तान्तरण लिने व्यवस्थापन तथा प्रशासनले अस्पतालका लिफ्ट नचल्ने अवस्थाको भए पनि भवन कसरी बुझेका थिए ।

कुल १४ करोड बढीको योजनामा  दुई करोड भन्दा बढी लिफ्टमा खर्चको भुक्तानी सम्बन्धित ठेकेदारले लिइसकेको छ, एक कर्मचारीले भने, तर लिफ्ट सञ्चालन नै भई रहेको छैन । दोस्रो र तेस्रो तल्लामा जाने बिरामी स्वाँ स्वाँ गर्दै कठिनाइ पूर्वक चाट्नुपर्ने बाध्यता छ ।

भवनमा आखिर लिफ्ट किन राखियो, उनले प्रश्न गरे, जब प्रयोगमै आउँदैन भन्ने लिफ्ट किन बनाइयो, किन भुक्तानी दिइयो ? अहिले मर्मत सम्भारको पनि म्याद सकिँदै छ, त्यसको भार कसले बेहोर्ने ? जस्ता प्रश्न उठ्न थालेका छन् ।

उता बिग्रेको ६० लाख मूल्य बराबरको अत्याधुनिक एक्स-रे समेत खरिद गरि अस्पतालमा दाखिला गरिएको छ । ती एक्स-रे दाखिला देखी नै सञ्चालनमा छैन, बनाउन पनि लाखौँ  रुपियाँ खर्च गर्नुपर्ने अवस्था देखिन्छ । कसले खरिद गरे र कसको दबाबमा दाखिला गरेका थिए ?

स्रोतका अनुसार एक्स-रे मेसिन बन्नै नसक्ने अवस्थाको पहिला नै थियो, तर सप्लायर्सले त्यसको सतिगति कहाँ लगाउने र लागत निकाल्ने योजना अनुसार स्वास्थ्य मन्त्रालय र अस्पताल कर्मचारीलाई मिलाएर सरकारकै टाउको धकेल्ने र लागन निकाल्ने योजना अनुसार सरकारी अस्पतालमा थन्काउने योजना बनाए,त्यसको सिकार पृथ्वीचन्द्र अस्पताल बन्यो ।

यि त केही उदाहरण मात्रै हुन्, अस्पतालका एक कर्मचारी भने,अहिले स्टोर (भण्डारण) मा रहेका स्वास्थ्य सेवाका करोडौ मूल्यका औजार, उपकरण समाग्रि त्यसै थन्किएका छन् । कुनै सामग्री दखिला छ, विल र आवश्यक कागजात नै छैन । कसले बुझ्यो ?

कसले खरिद ग¥यो लगत विवरण नै भेटाउन मुस्किल छन् । कतिपय उपकरण, सर्जिकल सामग्री प्रयोग नै नहुँदै खिया लागेर नष्ट हुने अवस्थामा छन्, त्यसको विस्तृत विवरण आउन बाँकी नै रहेको छ । अस्पतालको जिन्सीमा के समान कस्तो अवस्थामा छ ? त्यसको लगत विवरण तयार गर्न अस्पतालकै डा.किरन पाण्डेलाई जिम्मेवारी दिइएको अस्पतालका अध्यक्ष जगदीश चौधरीले बताएका थिए ।

तर अहिले सबैको विवरण तयार गर्न केही समय अझै लाग्ने डा.पाण्डेले बताएका छन् । स्वास्थ्य बिमामा समेत बिमाको रकम समेत ४१ लाख माग नै नगरिएको र किन माग गरिएन ? भन्ने अर्को प्रश्न पनि अनुत्तरित नै छ । कनिष्ट कर्मचारीहरूले केही आफ्ना सामान्य सुविधाका लागि किचकिच गर्ने अस्पताल प्रशासन कसरी यस्ता ठुलो रकम नोक्सानी हुने गरी अस्पतालमा काम गरेका रहेछन्, त्यसको सत्य तथ्य छानबिन गरि सार्वजनिक हुनुपर्ने नागरिक समाजले माग गर्दै आएको छ ।

अस्पतालले विभिन्न सेवा सुबिधा थपिँदै समाजमा आफ्नो सकारात्मक प्रभाव बढाउँदै विगतका अनियमितताबारे पनि चासो लिएर काम गरिरहेको भनाई अध्यक्ष चौधरीको रहेको थियो ।

उनका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या बढ्दै गएको छ, त्यसले गर्दा बिरामीको चाँप पनि बढ्दै गएको छ । अस्पतालमा बालरोग विशेषज्ञ वृजकुमार यादव सरुवा भई आएर हाजिर भएका छन् ।

अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले थप ६ जना विशेषज्ञ चिकित्सक गरि कुल १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालले जनाएको छ । ५ जना मेडिकल अधिकृत र दुई जना डेण्टल सर्जन सहित २० जना कार्यरत छन् ।

अस्पतालमा नियमित डायलसिस सेवासँगै विशेषज्ञले सर्जरी गरेर बिरामीको मन जित्ने प्रयासमा छन् । अस्पतालमा छिट्टै भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा आउने मेसु डा.ढकालले जानकारी गराए । उनले आवश्यक समाग्रि खरिदका लागि टेण्डर आह्वान गरि सकिएको छ । सामग्रीको आपूर्ति पछि आइसियु सेवा समेत सञ्चालन हुनेछ ।

अस्पतालमा अहिले दैनिक चार सय भन्दा बढी बिरामी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । सर्जन भएर सर्जरीको गर्ने सङ्ख्यामा वृद्धि भएको छ । दिनमा १० वटा सर्जरी पनि हुने गरेको छ । आइसियु सञ्चालन पश्चात् विशेषज्ञ चिकित्सकले जटिल प्रकारका पनि सर्जरी गर्न सक्छन् ।