Butwal Today

बढ्दै सामाजिक सञ्जालको दुरुपयोग 

२९ मंसिर २०८२, सोमबार
अ+
अ-

सामाजिक सञ्जालको दुरुपयोग गरेर हुने अपराधले पछिल्लो समय सिमा नाघेको छ ।

गत बर्ष ‘हनी ट्रयापिङ’ का घटना टाउको दुखाईको बिषय वनेको थियो । अहिले अपराधको प्रकृति र स्वरूपमा केही परिवर्तन आएको छ । देश तथा विदेशबाट सामाजिक सञ्जालको प्रयोग गरि भैरहेको अपराधजन्य घटनाले नेपाली समाजलाई प्रभावित वनाएको छ ।

यस्तो लाग्छ समाज अपराधजन्य मानसिकतातर्फ अघि बढेको छ । प्रहरी अनुसन्धानको भाषामा साईबर अपराधजन्य यस प्रकारका घटना यहीरूपमा बढने हो भने नेपाली समाजमा नैतिकता र इमान्दारीता भन्ने शब्दावली नै नरहने अवस्था छ ।

छिटो पैसा कमाउने, पैसाकै लागि अरूको इज्जतमाथि धावा बोल्ने, बार्गेनिङ गर्ने वा आफूलाई मन नपरेको मानिसलाई जसरीपनि सिध्याउन अरू मानिसलाई दुरुपयोग गर्ने क्रम अहिले यही सामाजिक सञ्जालको दुरुपयोग गरि भैरहेको छ ।

धनी पुरुषलाई आकर्षित गरि फसाउने नियतले विगतका बर्षहरूमा हुने हनी ट्रयापिङका घटनामा कमी आएपनि अपराध गर्ने प्रकृतिमात्रै फरक परेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोकिएको अवस्था छैन ।

यस प्रकारका घटनामा फसेका ब्यक्तिहरू डरको त्रासमा परि अपराधको शिकार बन्दै गएको परिस्थिति देखापरेको छ । यसले समाजलाई अर्कै दिशा र मोडतर्फ धकेलेको महसुस गराएको छ । अपरिचित मानिसलाई साथी बनाउने, भेट गर्ने, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राखेर बेइज्जत गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्नेक्रम बढेको छ ।

यस प्रकारका प्रवृत्तिले नेपाली समाज अपराधजन्य मानसिकतातर्फ प्रेरित भैरहेको देखिन्छ, जुन गंभीर चिन्ताको विषय हो । अर्कोतर्फ जसरीपनि पैसा कमाउने प्रवृत्तिका कारण यस प्रकारका घटना भैरहेका छन ।

खासगरि महिलाहरू यसमा प्रयोग भैरहेका छन । समाजले यो बिषयलाई गंभीररूपमा नलिने हो भने भोलिको दिनमा यसका माध्यमबाट झनै ठूला ठूला अपराधका घटना हुने कुरा निर्विबाद छ । तसर्थ सम्वन्धित निकायको यो बिषयमा ध्यान आकर्षित हुनु जरुरी छ ।

सामाजिक सञ्जालमा हुने यस प्रकारका घटनाले मानिस स्वार्थी, भ्रष्ट, नैतिकताविहीन हुँदै गएको यी उदाहरणले स्पष्ट गरेका छन् । यस प्रकारका घटनामा सामाजिक सञ्जाललाई माध्यम बनाउन थालिएको छ । सामाजिक सञ्जाल मानिसको दैनिकीका लागि अनिवार्य छ तर यसको प्रयोगमा सचेत हुनुपर्ने आवश्यकता छ । यस प्रकारका घटनाका श्रृंखला अरू बढ्दै जानु निश्चितरूपमा चिन्ताको कुरा हो ।

साइबर अपराधजन्य घटनामा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिन आएकाले यो अझैं जटिल व्यापक हुँदै गएको पुष्टि हुन गएको छ । सम्बन्धित निकायले गरेको अध्ययन अनुसन्धान र ती निकायमा परेका उजुरीका संख्याका आधारमा बढ्दो साइबर अपराधलाई कसरी रोक्ने भन्ने समस्या जटिल बन्दै गएको देखिन्छ ।

नेट तथा इन्टरनेटको पहुँच सर्वसुलभ हुन थालेपछि यस्ता खाले अपराधमा बालबालिकादेखि वृद्धसम्म पनि संलग्न हुने र स्वार्थपूर्तिका लागि अनेकन उद्यम गर्ने गरिएको पाइनुले साइबर प्रयोगको दुरुपयोग हुँदै गएको छ ।

फेसबुक, भाइबर, स्नेपच्याट, इमो, युट्युब, ट्वीटर र इन्सटाग्राम अहिलेका चलनचल्तीका आम माध्यम बनिसकेका छन् । सञ्चारका यी माध्यम मायाप्रेम, सूचना, घृणा, रिस, आवेग आदिका साथै अपराधजन्य गतिविधिको माध्यम हुन पुगेका छन् । यस्ता घटनामा चिनजानका व्यक्ति र यी माध्यमबाट चिनजान र सम्बन्ध हुन पुगेका व्यक्ति अपराधजन्य गतिविधि संलग्न हुने गरेका छन् ।

अवका दिनमा बढ्दो विश्वव्यापी सूचना सञ्जालका कारण यसको विस्तारमा नियन्त्रण संभव छैन तर सचेत र होसियार हुन भने सकिन्छ । प्रहरी प्रशासन समेत संगठित रूपमा बढ्दै गएको यो समस्या नियन्त्रणमा चनाखो बनोस् ।

पछिल्लो समय ठूलै समस्या वनेको अपराधका घटना नियन्त्रणमा सवैको ध्यान तानियोस् । सामाजिक सञ्जालको दुरूपयोगबाट हुने हानी तथा बेफाईदाका कुरा आम जनमानसमा बुझाउनुपनि जरुरी छ । समाजलाई सही ट्रयाकमा ल्याउने काममा हरेक सचेत र जिम्मेवार नागरिकको कर्तब्य हो ।