© २०२३
दाङ, ११ पुस ।
महिलाले प्रयोग गर्न मिल्ने परिवार नियोजनको अस्थायी साधन सायना प्रेस नामक तीन महिने सुईको सेवा बिस्तार हुन लागेको छ । फाईजरले निर्माण गरी पहिलो पटक सन २०१२ मा प्रयोगमा ल्याएको यो सूई विश्वका ५२ देशले प्रयोगमा गरिरहेको छ भने २५ देशहरु सेवाग्राही आफै लगाउने सकिने बताइएको छ । नेपाल परिवार नियोजन संघ दाङ शाखाले सोमबार यो सेवाको बारेमा जानकारी गराएको हो ।
शाखा प्रबन्धक बसन्त खनालका अनुसार, संयुक्त राष्ट्र संघ जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा नेपालमा पनि सायना प्रेस सुई आर्थिक वर्ष २०७७–०७८ मा सिन्धुली र नवलपरासी पूर्व जिल्लामा नमुना कार्यक्रमको रुपमा सुरु गरिएको थियो । यस्तै यो वर्ष पनि सिन्धुली, नवलपरासी पूर्व, मोरङ, पर्सा, ललितपुर, रोल्पा र कैलाली जिल्लामा सेवा विस्तार गरिएको छ । अब केही दिनमा दाङसहित देशभर सायना प्रेसको सेवा विस्तार गरिने उनले बताए ।
नेपालमा सबैभन्दा बढी प्रयोग गरिने साधन डिपोप्रोभेरा जस्तै सायना प्रेस भए पनि अझ परिस्कृत रुपमा तयार पारिएको तथा प्रयोग गर्न पनि सजिलो साधनको रुपमा रहेको स्टाफ नर्स प्रभा केसीले अभिमुखीकरणका क्रममा बताइन् ।
उनले डिपोप्रोभेरामा भएको प्रोजेस्टेरोन हर्माेन १५० एमएल भन्दा सायना प्रेसमा १०४ मिलिग्राम रहेको र लगाउन पनि सहज छ । यसले तीन महिनासम्म काम गर्ने र गर्भ रहनबाट रोक्न महिलाले प्रयोग गर्ने सुरक्षित र प्रभावकारी गर्भनिरोधक साधनको रुपमा लिईएको उनले बताइन् ।
महिनावारी भएको सात दिनमा यो सुई लगाउन सकिने तथा सही तरिकाले प्रयोग गरेमा ९९ प्रतिशत प्रभावकारी रहेको उनको भनाई छ । यसैगरी, स्तनपान गराई रहेकी सुत्केरी महिलाको हकमा ६ हप्तापछि लगाउन सकिने, स्तनपान नगराउने सुत्केरी महिलाको हकमा २१ दिन भित्र लगाउने तथा अन्य हर्मोनल साधन प्रयोग गरिरहेका महिलाले यो साधन प्रयोग गर्न चाहेमा तुरुन्तै प्रयोग गर्न सक्ने मात्रै नभई गर्भपतन पश्चात् तुरुन्तै लगाउन सकिने प्रभावकारी साधन मानिएको छ ।
सुरक्षित तथा प्रभावकारी, प्रयोग गर्न सजिलो, अनिच्छित गर्भ रहनबाट रोक्ने, एक पटक लगाए पछि ३ महिना गर्भ रहनबाट रोक्ने, महिलाले स्वःनिर्णय गरी लगाउन सक्ने र सुई भएको हुँदा लगाएको अरु व्यक्तिलाई थाहा नहुने उनले बताइन्
सो अवसरमा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले डिपोप्रोभेरा भन्दा परिस्कृत र स्तरीय मानिएकाले यो सुई प्रभावकारी हुने विश्वास लिएको बताए । सहज र सुरक्षित मानिएको र गोप्य पनि हुने भएकाले असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भ जस्ता समस्या हुनबाट रोक्नुका साथै भ्याक्सिनको डोज कम रहेको हुँदा लगाउन पनि सजिलो हुने उनले बताए ।