Butwal Today

व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता

२७ मंसिर २०८२, शनिबार
अ+
अ-

दाङ,२७ मङ्सिर ।

घोराही उपमहानगरपालिका -५ धर्नाकि  बसन्ता के सीले व्यवसायीक रूपमा कुखुरा पाल्न थालेको ८ वर्ष भयो । उनले घरछेउमा  दुई वटा ठुला खोर बनाएकी छन् ।

पछिल्लो पटक राखेका कुखुराले अन्डा दिन थालेको पनि  १ वर्ष भयो।  घरमा  खाली बस्नु भन्दा केही गरौँ भनेर श्रीमान् श्रीमतीले सल्लाह गर्‍यो अनि कुखुरा पालन सुरु गरेको उनले बताइन् । पहिलो पटक कुखुरा  पाल्दा राम्रो आम्दानी भयो  । अहिले उनका २ वटा  कुखुरा फर्ममा  २००० कुखुरा छन् ।

दैनिक  १० बाल्टिन अण्डा उत्पादन हुने गरेको उनले बताइन् । व्यापारी  दैनिक घरमै अण्डा लिन आउँछन् , बिक्रीको कुनै समस्या छैन । कुखुरा पालनबाट राम्रो आम्दानी भएपछि घर देउमा दुई वटा पोखरी खनेर माछा पनि पालेकी छन् । माछाबाट पनि राम्रो आम्दानी भएको छ ।

दुई वटा छोरा छन् उनीहरू यहाँ बस्न मान्दैनन् विदेश जाने तयारीमा छन् । बिए पास गरेका दुबै जना पढ्न, कमाउन विदेश जाने सोचाइ गरेका छन् । उनीहरूलाई रोक्न सकेको छैन , आजभोलिका केटाकेटी आफ्नो खुसी गर्न खोज्छन् केही भन्न सकेको छैन, उनले भनिन् । माछा १ हजार रुपैयाँ किलोमा बिक्री हुन्छ ।

अण्डाको साइज अनुसार मूल्य हुन्छ। ठुलो साइजको ५५० रुपैयाँ क्यारेट, सानो ४५० देखि ४०० सम्ममा बिक्री हुने गरेको उनले बताइन् ।  कुनै दिन ५०र ६० हजारको अण्डा बिक्री हुन्छ । कुखुरा पालनमा श्रीमानले सहयोग गर्ने भएकाले सजिलो भएको उनले बताइन् । यही पेसाबाट गाउँमै १० कट्ठा जमिन थपेको बताइन् ।

मान्छेको इच्छा शक्ति हुने हो भने आफ्नै गाउँठाउँमा  प्रशस्त आम्दानी गर्न सकिने उनको भनाइ छ।   तुलसीपुर उपमहानगरपालिका (१७ बघौसीका अनिता शर्माले विगत ६ वर्षदेखि व्यावसायिक रूपमा कुखुरा पाल्दै आएकी छन् ।

उनले २० लाख लगानी गरेर दुई वटा खोर बनाएर कुखुरा पालन  सुरु गरेकी हुन् । श्रीमान् पैसा कमाउन विदेश जाने तयारी गर्दै हुनुहुन्थ्यो तर मैले यही केही गरौँ भनेर कुखुरा पालन सुरु गरेकी हु । अहिले श्रीमान् श्रीमती मिलेर राम्रो कमाई गरेका छौ ।

एक जना स्थानीयलाई रोजगारी पनि दिएको उनले बताइन । अण्डा दिने कुखुराले  पाल्न सुरुको ४ महिना मै अण्डा दिन सुरु गरेपछि आम्दानी सुरु भयो । व्यापारी घरमै आउँछन् बिक्रीको कुनै समस्या छैन , उनले भनिन् । ६  जनाको परिवार छ, सबै खुसी भएका छौँ ।

दैनिक १५  देखि २० हजार आम्दानी हुने गरेको उनले बताइन् । सानोतिनो काम नभनेर आफ्नो गाउँ ठाउँमा काम गरेर प्रशस्त आम्दानी गर्न सकिने उनले बताइन् ।
घोराही उपमहानगरपालिका पशु शाखा प्रमुख खिमबहादुर बस्नेतले पशुपालनमा सानो लगानी गरेर पनि राम्रो आम्दानी हुने बताए ।

कुखुरा पालन गर्ने किसानलाईलाई पालिकाले पनि प्राबिधिक सहयोग दिने गरेको उनले बताए  ।