© २०२३
नवलपरासी, ११ पुस ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सोमबारदेखि उद्योग वाणिज्य संघ परासीको भवनबाट सेवा दिन सुरु गरेको छ । जिल्ला प्रशासनको कार्यालय सञ्चालन हँुदै आएको हालको भवन भत्काएर नयाँ भवन निर्माण हुने भएपछि अस्थायी रुपमा उद्योग वाणिज्य संघ बाट सेवा प्रवाह सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । उद्योग वाणिज्य संघको ठुलो र सानो दुवै सभाहललाई प्रयोग गरी सेवा सुरु गरिएको छ ।
सभाहललाई विभाजन गरेर फाँट अनुसारको सेवा दिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । प्रशासनको नयाँ भवन बनाउन १० करोड विनियोजन भएको छ । जसका लागि ठेकेदार छनौट लगायतका प्रक्रिया सकिईसकेको छ । जिल्ला प्रशासन कार्यालय रहेको भवनमै कार्यालय सञ्चालन गर्दै आएको जिल्ला समन्वय समितिको कार्यालय पनि यसअघि नै सारिएको छ ।