Butwal Today

गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण

जिल्लामा अधिकांश कृषकहरूले सुन्तला बगैँचामा बिजु बिरुवाहरू लगाउने प्रचलन छ । सुन्तला बगैँचाहरूमा ९५ प्रतिशत भन्दा धेरै विजु बिरुवाका बोटहरू छन् । कलमी बोटहरूले भन्दा बिजु बिरुवाहरूले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकहरूले बिजु बिरुवा रोज्ने गरेका छन् ।
२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

गुल्मी, २६ मङ्सिर । 

सुन्तला खेतीबाट गुल्मीका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । जिल्लामा २० करोड ६७ लाख ८४ हजार बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले बताए ।

गत वर्ष २४ करोड ५० लाख भन्दा बढीको सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस पटक सुन्तलाको उत्पादनमा ३२ प्रतिशतले कमी आएको छ ।

सुन्तला खेतीबाट यहाँका कतिपय कृषकहरूले वार्षिक दश लाख भन्दा बढीको सुन्तला बिक्री गर्दै आइरहेका छन् । जिल्लामा सबै भन्दा बढी सुन्तला उत्पादन गर्ने कृषकमा धुर्कोट गाउँपालिका –१ का खुम बहादुर पुन र टिका हमाल र वडा नं –२ स्थित पिपल धाराका बिष्णु प्रसाद खनाल रहेका छन् ।

उनीहरूले वार्षिक दश लाख भन्दा बढीको सुन्तला बिक्री गर्दै आइरहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा उत्पादित सुन्तला मध्ये यस पटक दश करोड मूल्य बराबरको सुन्तला मात्र जिल्ला बाहिर निर्यात हुन लागेको कार्यालयले जनाएको छ ।

गुल्मीबाट गत वर्ष १३ करोड बराबरको सुन्तला जिल्ला बाहिर निर्यात भएको थियो । सुन्तलाको उत्पादन घट्नुमा बेमौसमी वर्षा, कृषकहरूले बगैँचा व्यवस्थापनमा ध्यान नदिनु, सानैमा फल झर्ने समस्या, रोग/किराको प्रकोप बढ्नु, सुन्तलालाई उचित मल खाद तथा सिँचाई नपुग्नुुु, समयमा सुन्तलाको बोटहरू काँटछाट नगर्नु जस्ता मुख्य कारण रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताएका छन् ।

यहाँका कृषकहरूले परम्परागत रूपमा सुन्तला खेती गर्दैै आइरहेका छन् । परम्परागत खेतीका कारण समय समयमा सुन्तलाका फेद र जरा कुहिने समस्याका कारण सुन्तलाको उत्पादनमा कमी आउँदै जान थालेको धुर्कोट गाउँपालिकाका–२ पिपल धाराका कृषक शिवलाल खनालले बताए ।

सुन्तला बगैँचामा सयमै मलखादको व्यवस्थापन र सूक्ष्म तत्त्वको प्रयोग गर्ने हो भने उत्पादनमा वृद्धि हुने खनालको भनाइ छ । जिल्लामा अधिकांश कृषकहरूले सुन्तला बगैँचामा बिजु बिरुवाहरू लगाउने प्रचलन छ ।

यहाँका सुन्तला बगैँचाहरूमा ९५ प्रतिशत भन्दा धेरै विजु बिरुवाका बोटहरू छन् । कलमी बोटहरूले भन्दा बिजु बिरुवाहरूले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकहरूले बिजु बिरुवाको प्रयोग गर्दै आइरहेका छन् ।

जिल्लामा सुन्तलाको कुल क्षेत्रफल आठ सय ८५ हेक्टर रहेको छ । उक्त क्षेत्रफल मध्ये अहिले छ सय १५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भइरहेको छ । व्यावसायिक रूपमा सुन्तला खेती गर्ने कृषकहरूको सङ्ख्या जिल्लामा थोरै मात्रमा छ ।

जिल्लाका ९३ वडाहरू मध्ये ३६ वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागू भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख रमेश जैसवालले बताए ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा र सत्यवतीको लिम्घा र रेसुङ्गाको अर्खले लगायतका ठाउँमा चक्लाबन्दी गरी व्यावसायिक सुन्तला खेती गरिएको छ ।

गुल्मीको सुन्तला निकै रसिलो र स्वादिलो हुने भएका कारण बजारमा यहाँको सुन्तलाको राम्रो माग हुँदै आएको छ । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरूबाट व्यापारीहरू घरघरमै पुगेर एकमुष्ट रूपमा सुन्तलाको बगैँचा नै खरिद गर्ने गर्दछन् ।

अहिले बजारमा गुल्मीको सुन्तला प्रति केजी ८० रूपैंयादेखि एक सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।  सुन्तला जात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले पनि सुन्तलाका विभिन्न जातहरू पहिचान गरि तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ ।

कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिइएको छ । सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाई र बोटहरू काँटछाँट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवालले बताए ।

जिल्लामा धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, काली गण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने सुन्तलाको मुख्य पकेट क्षेत्रको रूपमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?