© २०२३
काठमाडौं, २४ मंसिर ।
बुधबार सेयर बजार ७.८६ अंकले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य रूपमा घटेको छ ।
अघिल्लो दिन ३ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । ७९ कम्पनीको मूल्य बढ्दा १६९ कम्पनीको मूल्य घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
सबै सेक्टरका सूचक घटेका छन्, यद्यपि सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ र व्यापार ०.०२ प्रतिशतले घटेका छन् ।
तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले बढेका कम्पनीहरूमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल छन् । यसमध्ये एसवाई प्यानल आजैदेखि कारोबारमा आएको हो । त्यस्तै लक्ष्मी लघुवित्तको मूल्य ८.७६ प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको मूल्य ७.१४ प्रतिशतले बढेको छ ।
झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ । हिमस्टार ऊर्जा कम्पनीको मूल्य ५.०५, सुपर मादी हाइड्रोपावरको ४.५९ र माबिलुङ इनर्जीको मूल्य ४.४९ प्रतिशतले घटेको छ । आज धेरै कारोबार भएका पाँच कम्पनीमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।