© २०२३
काठमान्डौ, २३ मंसिर ।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएपछि पदमुक्त भएका मनोज सिलवालले आफू अदालतको निर्णय आएको दिनदेखि नै बिदामा बसेको बताएका छन् ।
सोमबार सर्वोच्च अदालतको फैसला आएलगत्तै सिलवालले भने, “सर्वोच्च अदालतको आदेश आएदेखि म कार्यालय गएको छैन, बिदामा छु ।” उनले अब प्राधिकरणको नेतृत्व पुनर्बहाली भएका शाक्यले नै सम्हाल्ने र आफू त्यसमा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
सिलवालले अदालतको आदेश विपरीत आफू पदका लागि संघर्ष गर्ने व्यक्ति नभएको पनि बताए । उनले भने, “सरकारले योग्य ठानेर जति समय जिम्मेवारी दियो, म त्यस अवधिमा प्राधिकरणको हितमा काम गर्ने प्रयास गरेँ । छोटो समय भएकाले तत्काल परिणाम देखिने गरी काम हुन सकेन, तर संस्थालाई लयमा फर्काउने आधार तयार गर्ने प्रयास भने गरें ।”
सिलवालले संस्थामा व्यक्तिहरू परिवर्तन भइरहने तर संस्था र ग्राहक स्थायी हुने भएकाले सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए । “व्यक्ति त परिवर्तन भइरहन्छ, तर संस्था र ग्राहक उही रहन्छन् । त्यसैले उनीहरूको सेवामा समर्पित भएर काम गर्नुपर्छ,” उनले थपे ।
सरकारले गत असोज ५ गते शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सो निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यको पक्षमा परमादेश जारी गर्दै पुनर्बहाली गर्न आदेश दिएको थियो । अदालतले शाक्यलाई हटाउने निर्णय न्यायिक सिद्धान्तविपरीत भएको र उनको सहमति नलिई गरिएको उल्लेख गरेको छ । शाक्यले अदालतको आदेश पाएलगत्तै प्राधिकरणमा पदभार सम्हाल्ने तयारी थालेका छन् ।