© 2026
बुटवल, २२ मङ्सिर ।
बुटवल कालिका कलेजको १२ औँ वार्षिकोत्सव अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत सोमबार रामनगर क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको छ ।
कलेजका विद्यार्थी, शिक्षक तथा स्थानीय संघसंस्थाहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा सडक, नाली तथा सार्वजनिक स्थानहरूमा रहेका फोहोर मैला व्यवस्थित रूपमा सङ्कलन गरिएको थियो ।
सरसफाइको महत्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीद्वारा सडकछेउका स्थानीय वासीलाई फोहर व्यवस्थापन, प्लाष्टिकको न्यून प्रयोग र वातावरण संरक्षणबारे जानकारी समेत दिएका थिए ।
समाजप्रति उत्तरदायित्व बोध गराउँदै विद्यार्थीलाई सामाजिक काममा सहभागी गराउने उद्देश्यसहित कलेजले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको कलेजका ईसिए शिक्षक रेश्मीराज शर्माले बताए ।
यसैबिच सोमबार नै सम्पन्न कलेजको क्वीज प्रतियोगितामा बिएड तेस्रो वर्षका अनिता भुषाल, पुजा बन्जाडे र बिमल थापाको समूह प्रथम स्थान हासिल गरेका छन् ।
यसै गरी बिएड दोस्रो वर्षका कृतिका ज्ञवाली, प्रियन्सु हलुवाई र विष्णु प्रसाद खनालको समूह दोस्रो स्थान एवं बिबिएस तेस्रो वर्षका राहुल धवल, अर्जुन बिक र खेम सारुको समूह तृतीय स्थान हासिल गरेका छन् ।
मंगलबार कलेजमा नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, रण अम्बिका शाह अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आखा जाँच शिविर, सिटी हब डेन्टलको प्राविधिक सहयोगमा निःशुल्क दन्त जाँचका साथै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोग र स्टुडेन्ट क्वालिटी सर्कल, अलुमनी अफ बुटवल कालिका क्याम्पसको आयोजनामा वृहत रक्तदान कार्यक्रम समेत हुने छ ।