© २०२३
हिउँदमा महेन्द्र राजमार्गमा यात्रा गर्दा किनारामा रहेको वनमा सेताम्मे फुलेका लहराले रुखहरू पुरै ढाकेको देखिन्छ ।
नदी किनारका बुट्यानहरू त झन् नदेखिने गरि सेता फुल फुल्ने लहराले छोपिन थालेको पनि दशक भन्दा बढी भैसक्यो । एक दशक अघिसम्म चितवन सेरोफेरोसम्म मात्र देखिने यो लहरा अहिले कपिलवस्तुदेखी पश्चिमसम्म फैलिसकेको छ ।
हिउँदमा सेताम्मे देखिने यो लहरा रुखमा मात्र हैन पर्खाल, विजुलीका पोल, तार लगायतका संरचनामा समेत फैलिदै गएको छ । गर्मि लाग्ने बेलासम्म लहरा सुकेजस्तो देखिन्छ र अर्को वर्ष पहिलेभन्दा सप्रिएर र अझ ठुलो क्षेत्रमा फैलिएर झाङ्गीन्छ ।
यो लहरे वनमारा मात्र नभएर अन्य वनमारा झारहरू पनि वनजंगत र खेतबारीमा तीव्र रूपमा फैलिरहेका छन् । यस्ता मिचाहा वनस्पतिले वनको विकास र उत्पादनमा समस्या बढाएका मात्र छैनन्, जलाधार संरक्षण, खेतीपाती, सिचाई, जिवजन्तुको आहार विहारमा समेत प्रतिकुल असर पारिरहेका छन् ।
यो समस्या नेपालमा मात्र नभएर विस्वब्यापी रूपमा देखिएको छ । विश्वमा जैविक विविधता ह्रास हुनाका विभिन्न कारणहरू मध्ये बाह्म मिचाहा प्रजातिको फैलावट दोश्रो प्रमुख कारण भएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
कुनै प्राकृतिक भौगोलिक क्षेत्रमा अन्यत्रबाट आएर वा ल्याईएर फैलिदै गएर स्थानीय जैविक विविधता, वातावरण तथा पर्यावरणीय सेवालाई नकारात्मक प्रभाव पार्ने वनस्पतिहरू नै मिचाहा वनस्पति हुन । स्थानीय मिचाहा वनस्पतिहरू समेत हुने भएपनि बाह्य वनस्पतिलाई नै मिचाहा वनस्पति भनेर चिनिन्छ ।
मिचाहा प्रजातिका वनस्पतिहरू स्थानीय प्रजातिका वनस्पतिहरू भन्दा तुलनात्मक रूपमा सजिलै उम्रने, लामो समयसम्म सुषुप्तावस्थामा रहेर पनि उम्रन सक्ने, अत्यधिक उर्वराशक्ति र प्रसारण क्षमता भएका हुन्छन् ।
यस्ता वनस्पतिहरूको प्रतिष्प्रधि क्षमता धेरै हुने र विषम हावापानीमा समेत फैलिन सक्ने भएकोले रैथाने वस्पतिमाथी सजिलै जित हासिल गर्न सक्छन् । कम उत्पादनशील जमिनमा पनि सजिलै उम्रन र बढ्न सक्नेमात्र नभएर स्थानीय वनस्पतिलाई नै पोषण श्रोत बनाएर समेत मिचाहा वनस्पतिहरू फैलिन सक्छन् ।
नेपालमा लहरे वनमारा, कालो वनमारा, सेतो वनमारा, वनफाँडा; सिमसार क्षेत्रमा जलकुम्भी; कृषि क्षेत्रमा निलो गन्धे; चरण क्षेत्रमा पातीझार र वन सिलाम आदि जस्ता मिचाहा प्रजातिले वन क्षेत्रमा समस्या सिर्जना गरिरहेका छन् ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले नेपालमा २९ प्रजातिका वनस्पतिहरू हालसम्म बाह्य मिचाहा प्रजाति भएको उल्लेख गरेको छ । जसमध्ये नेपालमा पाइने ५ प्रजातिहरू ल्यान्टेना क्यामेरा( किरने काँडा), माइकेनिया माइकरान्था ( लहरे वनमारा), क्रोमोलाइना ओडोराटा (औले वनमारा), इकोर्निया क्रास्पिस वा पोन्टीडेरिया क्रयासिपस ( जलकुम्भी) र स्फागनेटिकोला ट्राइलोबाटा विश्वका अति हानिकारक शिर्ष १०० प्रजातिको सूचीमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले समावेश गरेको छ ।
यी बाहेक नेपालमा पाइने अन्य मिचाहा प्रजातिका वनस्पतिमा जलजम्बु, काँडे लुंडे, कुम्भिया, कालो वनमारा, अजगन्दा, निलो खन्धे, कालो कुरा, फुले झार, चित्लांगे, पाती झार, भेडे कुरो, सनई फुल, लज्जावती, ठूलो टाप्रे, चकमके, सिलामे झार, चरी अमिलो, सत्यानाशी, कारौते घाँस, आलुपातेर थाङनो झार रहेका छन् ।
भौगोलिक रूपमा तराई र चुरे क्षेत्रमा सबैभन्दा बढी मिचाहा वनस्पति पहिचान गरिएका छन् भने भौगोलिक उचाई बढ्दै जाँदा बाह्य मिचाहा वनस्पतिको संख्या पनि कम भएको देखिन्छ । नेपालमा मुख्यगरी ४ प्रकृतिका मिचाहा वनस्पतिहरू फैलिएको पाइन्छ ।
पहिलो समुहमा लहराको रूपमा रुखमाथि फैलिदै विस्तार हुने वनास्पतिहरू पर्छन् । यस्ता वनस्पतिमा नेपालमा लहरे वनमारा (वैज्ञानिक नाम ’माइकेनिया माइक्रान्था’ ) पर्छ । निकै छिटो फैलिने र वहुवर्षे यो लहरालाई ’माईल अ मिनेट’ पनि भन्ने गरिन्छ ।
ठूलो मात्रामा बीउ उत्पादन गर्नसक्ने क्षमता भएको , बिउ हलुका भएकोले लामो दुरीमा फैलिन सक्ने, र आँख्ला भएको सानो टुक्राबाट समेत उम्रन सक्ने भएकोले लहरे वनमारा निकै फैलिएको छ । लहरे वनमारा पर्याप्त प्रकाश, ताप र वर्षा हुने तराई क्षेत्रको खुला भूभागहरू जस्तै नदी तथा सडकको किनार, खेतबारीको किनार, वनजंगलको किनारको क्षेत्र साथै प्राकृतिक वन तथा वृक्षारोपण गरिएको भूमिहरूमा भने कम छहारी भएको ठाउँमा बढी मात्रामा पाइन्छ ।
अहिले तराई र चुरे क्षेत्रमा सबैभन्दा बढी समस्या बनाएको मिचाहा वनस्पति यहि नै हो । दोश्रो समुहमा खाली जग्गा, चौर र बुट्यानको बिचमा उम्रिएर फैलिदै जाने वनमारा झार पर्छन् । तेश्रो समुहमा आयु कम भएका र खुला ठाउँमा छिटो फैलिने पाती झार ( पार्थेनियम), सिलामे झार जस्ता वनस्पति पर्छन् । २०७० को दशकमा रूपन्देही जिल्लामा तिनाउको प्रभाव क्षेत्रमा निकै फैलिएको पार्थेनियमको फैलावट अहिले कम भएको देखिन्छ । चौथो समुहमा जलाशयमा फैलिएर पानीको सतह नै नदेखिने बनाउने जलकुम्भी जस्ता वनस्पतिहरू पर्छन् ।
कुनै पनि स्थानको प्राकृतिक अवस्थाको निरन्तरतामा मिचाहा वनस्पतिहरूले प्रतिकुल असर पारिरहेको देखिन्छ । यस्ता वनस्पतिहरू छिटो फैलिने र स्थानीय वनस्पतिको पोषक तत्व सोसिदिने भएकोले रैथाने वनस्पतिहरूको वृद्धि विकास हुन सक्दैन । लहरे मिचाहा झारले रुखमाथि छत्र निर्माण गर्ने भएकोले जमिनमा रहेका साना वनस्पतिहरू मर्छन् र नयाँ वनस्पतिहरू उम्रन पाउदैनन् ।
रुखमाथि झाँगिदै फैलिने मिचाहा वनस्पतिको कारण ठुला रुखहरूले समेत आवस्यक मात्रामा घाम, पानी र पोषण प्राप्त गर्न नसक्ने भएकोले सुक्दै जान्छन् । मिचाहा वनस्पतिको तीव्र फैलावटले गर्दा वन्यजन्तुका चरन क्षेत्रहरू नासिन्छन्, जसले गर्दा वन्यजन्तुको आहारा र वासस्थान खोसिन्छ । घाँसे मैदानहरूमा मिचाहा झारले ढाक्दा किसानहरूले समेत आफ्ना पशु चराउन र घाँसको व्यवस्था गर्न कठिन हन्छ । यो कारणले वनमा जैविक विविधताको संरचना मै प्रतिकुल असर पुग्छ ।
ताल तलैयामा फैलिने जलकुम्भी जस्ता मिचाहा झारले गर्दा तालको सौन्दर्यता मात्र हराउदैन, तालमा जलचरहरूको वृद्धि र विकासलाई अवरुद्ध गराउछ र क्रमश जलाचरहरू हराउदै जान्छन् । ताल तलैया र स्थिर नदीहरू क्रमश पुरिदै जानुमा मिचाहा वनस्पतिहरूले मुख्य भूमिका खेलेका हुन्छन् ।
ताल र पोखरी मिचाहा वनस्पतिले भरिदा स्थानीय समुदायका पारम्परिक अभ्यासहरूलाई निरन्तरता दिन कठिन हुन्छ र यसले माछा पालन, जलयात्रा र पर्यटनमा समेत ठुलो असर गर्छ । पार्थेनियम नामक झार प्रायजसो जलाधार क्षेत्र र नदि किनारमा फैलिने गरेको छ । नदीको पानी हुँदै यो झार किसानको खेताबारिसम्म पुग्ने गरेको छ ।
यस्ता झारले नदीको बहाव मार्ग परिवर्तन गरिदिने, कुलो अवरुद्ध गरेर पानी बग्न रोक्ने, खेतिपाती गर्न असहज गराउने, चरण क्षेत्रमा फैलिएर पशु चरिचरणमा बाधा पु¥याउने गरेको देखिन्छ । खासगरी चुरेबाट उत्पन्न भएका साना खहरे खोलाहरू पुरिदै जानुमा मिचाहा वनस्पतिले पनि भूमिका खेलिरहेका छन् । वन क्षेत्रलाई सुख्खा बनाउन यस्ता झारपातले भूमिका खेलेका हुन्छन् ।
मिचाहा झारपातहरू ठुलो क्षेत्रमा फैलिने र छिटो सुक्ने भएकोले यस्ता झारपात भएको क्षेत्रमा वन डढेलो छिटो फैलिने गरेको देखिन्छ । जल, जमिन र जंगलमा मिचाहा झारपातले असर पार्न थालेपछि २०५० यता नै यसको असर र नियन्त्रणका बारेमा चर्चा हुन थालेका थिए । यसै सन्दर्भमा सरकारी स्तरबाट कार्यान्वयनमा ल्याईएका विरुवा क्वारेन्टाईंन तथा संरक्षण ऐन २०६४, राष्ट्रिय जैविक सुरक्षा फ्रेमवर्क, २००६, कृषि जैविक विविधता नीति, २०६३ ,राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ ,खर्क नीति, २०६८ , राष्ट्रिय सिमसार नीति २०६९ , नेपाल जैविक विविधता रणनीति तथा कार्ययोजना (२०१४–२०२०) , नेपाल राष्ट्रिय रेडप्लस रणनीति (२०७५–२०७९) संरक्षित क्षेत्र व्यवस्थापन रणनीति (२०२२–२०३०) लगायतका राष्ट्रिय नीतिहरूले बाह्य मिचाहा प्रजातिलाई समस्याको रूपमा पहिचान गरी यसको नियन्त्रण र व्यवस्थापनमा जोड दिएका छन् ।
विभिन्न राष्ट्रिय नीति तथा रणनीतिहरूले बाह्य मिचाहा प्रजातिलाई समस्याको रूपमा उल्लेख गरे तापनि यसको रोकथाम र व्यवस्थापन सन्दर्भमा स्पष्ट दिशानिर्देश गर्ने नीतिगत दस्तावेज नभएकोले बाह्य मिचाहा प्रजातिको प्रभावकारी व्यवस्थापन गर्न बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय रणनीति तथा कार्यान्वयन योजना, २०८१ तर्जुमा गरि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयका मन्त्रीस्तरको निर्णयबाट २०८१ चैत्र १७ देखि कार्यान्वयनमा आएको छ ।
यो रणनीतिले बाह्य मिचाहा प्रजाति प्रवेश र विस्तार हुने दरलाई सन् २०३० सम्ममा कम्तिमा ५० प्रतिशतले कम गर्ने, बाह्य मिचाहा प्रजातिको रोकथाम, नियन्त्रण र व्यवस्थापन गरी यसबाट जैविक विविधता, वातावरणीय सेवा र समुदायको जीविकोपार्जनमा पर्ने नकारात्मक प्रभाव र जोखिम न्यूनीकरण गर्ने, बाह्य मिचाहा प्रजातिको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सरोकारवालाहरूको वित्तीय, प्राविधिक तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने र बाह्य मिचाहा प्रजातिको रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहकार्य बृद्धि सर्वेक्षण, अध्ययन, अनुसन्धान, सूचना तथा तथ्याड्क प्रणाली विकास गर्ने उद्देस्य राखेको छ । मिचाहा वनस्पति बहु पक्षीय जटिल समस्या भएकोले यो समस्याको व्यवस्थापनको लागि विशेष रणनीतिक ढांचा पनि निर्धारण गरिएको छ ।
यस्ता रणनीतिमा बाह्य मिचाहा प्रजातिको प्रवेश तथा विस्तार हुने मार्ग र माध्यम पहिचान गरी यसलाई देश भित्र र नयाँ स्थानहरूमा प्रवेश हुनबाट रोक्ने, मिचाहा प्रजातिलाई प्रारम्भिक अवस्थामा नै पहिचान गर्ने र यसलाई तुरन्तै नियन्त्रण गरी विस्तार हुनबाट रोक्ने, बाह्य मिचाहा प्रजातिलाई फैलनबाट रोक्न विभिन्न उन्मूलन, न्यूनीकरण, सिमितिकरण र नियन्त्रणका क्रियाकलापहरू सञ्चालन गर्ने, मिचाहा प्रजातिको लागि स्थान विशेष, प्रजाति विशेष र पारिस्थितिकीय प्रणाली विशेष व्यवस्थापन र पुर्नस्थापना गर्ने, मिचाहा प्रजातिको सिघ्र पहिचान, रोकथाम र नियन्त्रणमा सरोकारवाला सबै क्षेत्रको सहभागिता सुनिस्चित गर्ने कुरालाई जोड दिइएको छ ।
अहिले मिचाहा वनस्पतिहरू वन संरक्षणमा मात्र चुनौती बनेको देखिएपनि जलाधार, सिचाई र कृषिमा क्रमश यसका असरहरू देखिन थालेका छन् । यस्ता वनस्पतिलाई सामान्य झारपात मात्र ठानेर वेवास्ता गर्ने हो भने नेपालीले ठुलो आर्थिक र पर्यावरणीय मुल्य चुकाउनु पर्नेछ । अहिले बाह्य मिचाहा वनस्पतिको फैलावट वहुपक्षीय र बहुक्षेत्रीय सरोकारको विषय बनिसकेको छ । त्यसैले यो समस्याको समाधानको लागि निजी क्षेत्र, नागरिक समाज, वन उपभोक्ता समूहहरू, कृषक तथा सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सक्रिय सहभागिता जरुरि छ ।
मिचाहा प्रजातिलाई प्रारम्भिक अवस्थामा नै नियन्त्रण गर्न नसक्दा भविष्यमा यसबाट पर्ने नकारात्मक प्रभाव अत्याधिक बढी हुन्छ र यसलाई नियन्त्रण गर्न पनि अत्याधिक लगानी र परिश्रम गर्नुपर्ने भएकोले यसको पहिचान हुनासाथ नियन्त्रण गर्ने कार्यक्रम सबै तहका सरकार र स्थानीय समुदायले संचालन गर्नुपर्छ । काटेर, गोडेर फालेर वा जलाएर मात्र यस्ता वनस्पति नियन्त्रण गर्न नसकिने भएकोले यस्ता वनस्पतिको बैकल्पिक उपयोग गरेर आय आर्जन गर्न सकिने सम्भावनाको खोजि समेत गर्नुपर्छ । अबपनि ध्यान पुगेन भने वनमा रुखाविरुव नहुने, खेतबारीमा बालीनाली नहुर्कने र खोला नदि र ताल तलैयामा पानी नदेखिने अवस्था छिट्टै आउन सक्नेछ ।