© २०२३
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ।
यो दिवस मनाई रहँदा गत साता मात्रै पोखरामा बुद्ध एयरको जहाजमा चरा ठोक्किएर धन्नै दुर्घटनामा परेको थियो । यसले के स्पष्ट हुन्छ भने नेपाली आकाश अझै सुरक्षित हुन सकेको छैन । दुई वर्षअघि पोखरामै यति एयरको जहाज दुर्घटना हुँदा ७२ यात्रुको मृत्यु भएको थियो ।
नागरिक उड्डयन दिवस मनाई रहँदा नेपालमा हुने भयानक हवाईजहाज दुर्घटनाका कहालीलाग्दो नियति हामी नेपालीले भोग्न बाध्य भइरहेका छौँ । यद्यपि पोखराको यति एयर दुर्घटनापछि त्यति ठुलो दुर्घटनाको नियति भोग्नु परेको छैन ।
तर, नेपालका जहाज सुरक्षित नरहेको प्रमाण जहाज उडेपछि गन्तव्य नपुग्दै विभिन्न कारणले आकस्मिक अवतरण गर्नुपरेका पछिल्ला उदाहरण काफी छन् । यति, श्री र बुद्ध तथा गुण एयरका उडानहरू सुरक्षित नरहेको कुरा उडान हुँदै गर्दाका उदाहरणले स्पष्ट गरेकै छन् ।
केही दिनअघि मात्रै नेपालगन्जबाट उडेको श्री एयरको जहाज मेसिनमा भएको खराबीले भरतपुर विमानस्थलमा आकस्मिक अवतरण भयो । श्रीएयरमात्रै होइन, बुद्ध, यति र गुण एयरलाईन्सको अवस्था पनि त्यही हो । यी उदाहरणले के स्पष्ट गर्छन् भने नेपाली आकाशलाई सुरक्षित गराउने काममा ढिलाइ भइरहेको छ ।
पोखरामा यति जहाज दुर्घटनाको १८ महिना अघि पनि पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परेको थियो । त्यै गरी नेपालको आन्तरिकतर्फका धेरै जहाज दुर्घटनामा परेको उदाहरण र इतिहास नेपालको उड्डयन क्षेत्रमा छन् । जहाज दुर्घटनामा नेपालले ठुलो मानवीय क्षति बेहोर्दै आएको छ ।
अधिकांश दुर्घटनाको कारणमा पुराना जहाज मुख्य कारण देखिएको छ भने जहाज मर्मत समयमै नगर्नु र परीक्षण समेत नहुनु सहायक कारण देखिएका छन् । तसर्थ अव नेपाल सरकारले नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन नेपालमा पुराना र जीर्ण भएका जहाजको विस्थापन अर्थात् विकल्प खोज्नुपर्ने भएको छ ।
अर्कोतर्फ युरोपियन युनियनले नेपालको आकाशलाई अझैपनि कालोसूचिबाट नहटाउनुको मुख्य कारण यो पनि हो । नेपालको आकाश अझै सुरक्षित नरहेको कुराले आम नेपालीजनलाई चिन्तित वनाउनु स्वाभाविक छ । यद्यपि नेपालको आकाश जोखिमले भरिएको कुरामा शंका गरिरहनु पर्दैन ।
उदाहरणकै रूपमा लुक्ला विमानस्थल विश्वकै सर्वाधिक जोखिम भएको विमानस्थल हो । तर यो भन्दैमा नेपालको उड्डयन क्षेत्रलाई कालोसूचीमै राखिरहनु कत्तिको न्यायसंगत हो ? युरोपियन युनियनले यो बिषयमा अव पुनर्विचार गर्नुपर्ने आवश्यकता छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको छ ।
नेपाल पर्यटन क्षेत्रको हिसावले महत्वपूर्ण अन्तर्राष्ट्रिय गन्तव्य सम्पदा हो । नेपाल भ्रमण गर्ने चाहना विश्वका जुनकुनै देशका नागरिकलाई पनि हुन्छ । विश्वकै अग्लो सगरमाथा र गौतमबुद्धको देश नेपालप्रति विश्व समुदायको सकारात्मक धारणा छ ।
तर, यही धारणा बनाएर नेपाले पर्यटक नेपालको आकाश सुरक्षित छैन भन्दा धरमर हुन सक्छन । तसर्थ अवको दिनमा सरकारले नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन नेपालमा पुराना र जीर्ण भएका जहाजको विस्थापन अर्थात् विकल्प खोज्नुपर्नेतर्फ ध्यान दिनु जरुरी छ ।
विदेशमा चलाएर थोत्रा भएका जहाज लिलामीमा नेपालमा आउने र ती नेपाली बायुसेवा कम्पनीले चलाउने गरेको उदाहरण अहिलेका जहाज हुन भन्दा अन्यथा हुँदैन । बाहिर असफल भैसकेका जहाजलाई नेपालमा उडानको अनुमति दिनु नै गलत हो ।
यतिमात्र होइन त्यस्ता धेरै जहाज छन्, जो बाहिर असफल भएपछि नेपाली आकासमा उडाउने गरिएको छ । तसर्थ नेपालमा अव थोत्रा र पुराना जहाज चलाउनै प्रतिवन्ध गर्नुपर्दछ । नेपाल सरकारले कति बर्ष पुराना जहाज चलाउन रोक लगाउने हो, त्यसमा अव एउटा ठोस निर्णय गर्नैपर्दछ ।
जहाजको आन्तरिक परिक्षणमा पनि ध्यान दिनेतर्फ सोच्नु जरुरी छ । सरकारले दुई वर्षअघि आन्तरिक उडान अनिवार्य जाँच गरेरमात्र उडाउन दिने निर्णय त गरेको थियो तर त्यो निर्णय अहिले कार्यान्वयनमा छैन । नेपालमा घटना भएपछि मात्रै छानबीन गर्ने र प्रतिकृया जनाउने वा लिने परम्परा छ ।
त्यसमा अव सुधार जरुरी छ । सरकारले अहिलेदेखि नै यो क्षेत्रमा गंभीर ढंगले कदम चालोस् ।