© २०२३
बुटवल, १९ मंसिर ।
नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशको आयोजना तथा सुनगाभा पब्लिक सेकेण्डरी स्कूलको आतिथ्यतामा तेस्रो प्रदेशस्तरीय दुई दिने जुनियर तथा युवा रेडक्रस गोष्ठी शुक्रबारदेखि रुपन्देहीको सैनामैनामा सुरु भएको छ ।
गोष्ठीको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले गरेका हुन् । रेडक्रस मानवीय सेवामा समर्पित सामाजिक संस्था भए पनि केही स्वार्थी समूहका कारण संस्थाको केन्द्रदेखि जिल्लासम्म थाला परेकोमा उनले दुःख व्यक्त गरे । यद्यपि, उनले रेडक्रस अन्तर्राष्ट्रिय स्तरमा पहिचान बोकेको संस्था भएकोले केही नराम्रा पक्षलाई समय अनुसार बदल्दै जानुपर्नेमा जोड दिए ।
नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका सभापति लालप्रसाद पंगेनीले गोष्ठीको मुख्य लक्ष्य मानवीय सेवामा रेडक्रसको महत्व बुझाउनु र जुनियर तथा युवा रेडक्रसका विद्यार्थीहरूलाई सिकाइ, ज्ञान र सामाजिक सेवामा समर्पित बनाउनु रहेको बताए ।
उनले भने–“मानवीय सेवामा युवा पुस्तालाई समर्पित गर्ने र विपद् व्यवस्थापनमा स्थानीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ यो गोष्ठी आयोजना गरिएको हो ।”
कार्यक्रम संयोजक तथा प्रदेश कोषाध्यक्ष ज्ञानहरि रिजालले गोष्ठीले जुनियर तथा युवा रेडक्रसले १ वर्षे गर्ने कार्ययोजना बनाउने, क्षमता विकास गर्ने र विद्यालय तथा क्याम्पस तहका पाठ्यक्रममा मानवीय सेवा सम्बन्धी संस्कारयुक्त शिक्षा सिकाउन सहयोग पुर्याउने जानकारी दिए ।
सैनामैना नगरपालिका उपप्रमुख विना रानाले मानवताको पक्षमा काम गर्ने सेवामुखी संस्थाले सामाजिक सेवालाई उत्प्रेरित गर्ने काम आफैंमा योगदानपूर्ण रहेको बताउँदै रेडक्रसका सात सिद्धान्तलाई आत्मासात् गरी गोष्ठीले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
नेपाल रेडक्रस सोसइटी रुपन्देही जिल्ला सभापति रामचन्द्र उपाध्याय प्रदेशस्तरका कार्यक्रम भव्यताका साथ आयोजना गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सुनगाभा स्कूलप्रति आभार प्रकट गरे ।
शिक्षक नायक बाँकेका यमनारायण महत मानवता हराएको अवस्थामा सेवा गर्छु भन्ने सहभागीलाई मानवीय सेवाको बिजारोपण गर्न र सिंगो लुम्बिनी प्रदेशलाई मानवताको प्रदेश बनाउन गोष्ठीले जागरण पैदा गर्ने विश्वास व्यक्त गरे ।
सुनगाभा स्कूल प्राचार्य तिलब के.सी.ले गोष्ठीबाट युवा विद्यार्थीहरूले रेडक्रसको भूमिका र सामाजिक उत्तरदायित्वबारे ठूलो लाभ लिने बताए ।
गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका ३२ विद्यालय युवा रेडक्रस सर्कलका विद्यार्थी तथा शिक्षक नायकहरू गरी करिब १ सय जनाको सहभागिता रहेको छ ।
गोष्ठीको उद्घाटनको अवसरमा बिहान प्रभातफेरी समेत गरिएको थियो भने साँझ ७ बजे साहित्यिक कार्यक्रम आयोजना हुनेछ । विभिन्न चरणमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने गोष्ठीको समापन शनिबार ‘सैनामैना घोषणापत्र’ जारी गर्दै गरिनेछ ।
गोष्ठीको उद्घाटन समारोहमा सभापति पंगेनी, सुनगाभा स्कूल प्राचार्य तिलब केसी र जिल्ला उपसभापति दिनेश पन्थीले पनि आ–आफ्नो धारणा राखेका थिए ।