© २०२३
सुर्खेत, १९ मंसिर ।
मानव सेवा आश्रम सुर्खेतको भवनको शुक्रवार शिलान्यास गरिएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिको सहभागितामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो । प्रदेश सरकारबाट निर्माण हुने उक्त भवनको लागत अनुमान दुई करोड ५० लाख रहेको छ । जसअन्तर्गत चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट १ करोड ५० लाख विनियोजन गरिएको छ ।
मुख्यमन्त्री कँडेलले मानवसेवा आश्रमको भवन निर्माणको लागि सामुदायिक सहभागिता र सहयोगका लागि आग्रह गरे । उनले मानवसेवा आश्रमको निर्माणले निर्माण स्थल रहेको चारकुनेको सामाजिक सद्भाव र एकता कायम राख्ने बताए । साथै मुख्यमन्त्री कँडेलले आश्रम भवन निर्माण कार्य गुणस्तरीय र निश्चित समयमै सम्पन्न गरिदिन समेत आग्रह गरे ।
यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए। सामाजिक विकास मन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोल अनुरूप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताए । सरकारी घोषणालाई कार्यान्वयन गर्न एउटा मात्र संस्थामा भर पर्न नहुने प्रति सचेत भएको बताए ।
मानवता प्रवद्र्धन र सेवाका निमित्त प्रदेश सरकारको प्राथमिकता रहेको जिकिर गर्दै भवन निर्माण जस्ता पूर्वाधार संरचनाको काममा लागिरहेको जानकारी दिए । मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा. नवराज केसीले भवन निर्माणको लागि महायज्ञ मार्फत दान सङ्कलन गरिएको स्मरण गर्दै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताए । आश्रमको समयमै भवन निर्माण गर्न सहयोग गर्न अपिल गरे । उनले भवन निर्माण स्थल नजिकैको क्षेत्रमा धार्मिक पार्क निर्माण गरिदिन मुख्यमन्त्री र मन्त्रीलाई आग्रह गरे ।