लमही,१९ मंसिर ।
गढवा गाउँपालिकामा १० जना किसानलाई ‘माटोको स्वस्थ कार्ड’ उपलब्ध गराइएको छ। हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा सञ्चालन भइरहेको स्वस्थ माटोका लागि पुनरुत्पादक कृषि परियोजना अन्तर्गत यो कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमका क्रममा गढवा गाउँपालिका–४ की कृषक शुसिला थारु कुमाल र गढवा–७ झरबैराकी सरस्वती कुमाललाई समेत माटो परीक्षणपछि तैयार गरिएको स्वस्थ माटो कार्ड प्रदान गरिएको छ। माटो परीक्षणका आधारमा किसानलाई जग्गाको उर्वराशक्ति, आवश्यक पोषक तत्त्व, माटोको संरचना, pH मूल्य तथा सुधारका उपायहरू समेटिएको यो कार्ड अत्यन्त उपयोगी हुने बताइएको छ।
कार्ड वितरण गर्दै कार्यक्रमका प्रतिनिधिहरूले स्वस्थ माटो बिना दिगो कृषिको कल्पना गर्न नसकिने उल्लेख गर्दै माटोको गुणस्तरअनुसार मल–सिँचाइ, बाली छनोट र व्यवस्थापन गर्न यसले किसानलाई सहज बनाउने बताए।
परियोजनामार्फत किसानलाई डिजिटल जियो कृषि सेवा जोड्दै कृषि औजार, प्राविधिक सल्लाह तथा बजार पहुँचमा समेत सहयोग पुर्याइने जानकारी दिएको छ
।
स्थानीय किसानहरूका अनुसार माटोको यथार्थ स्थिति थाहा पाउन नसक्दा वर्षौंसम्म अनुमानमा आधारित खेती गर्नु बाध्यता थियो। माटो परीक्षणसँगै अब उनीहरूले उत्पादन बढाउन आवश्यक सामग्री र विधि छनोट गर्न सक्ने छन्।
गढवा गाउँपालिकाका अन्य किसानलाई समेत क्रमिक रूपमा कार्ड वितरण गरिने परियोजनाले जनाएको छ।
स्वस्थ माटो, स्वस्थ उत्पादन र किसानको आयवृद्धि नै परियोजनाको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ।