© २०२३
गुल्मी, १८ मङ्सिर ।
जिल्लाको रेसुङ्गा नगरपालिकामामा ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ सञ्चालन हुने भएको छ ।
ग्रामीण लघु तथा साना उद्यमी र उद्यमहरूको सक्षमीकरण, स्तरीकरण र स्तरोन्नति गरी रोजगारी र आयस्तर वृद्धि गर्ने उद्देश्यले रेसुङ्गा नगरपालिका र दायित्व संस्थाको सहकार्यमा जिल्लामा पहिलो पटक उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिकामा उद्यम वृद्धिको प्रचुर सम्भावना रहेका उद्यमीहरूको लागि आवेदन आह्वान गरिएको छ । प्राप्त आवेदन मध्य, सोच र सीप, वित्त र लगानी अवस्था, नवप्रवर्तन, वृद्धिमुखी, उद्यमको वर्तमान अवस्था, व्यावसायिक योजना, बजारको अवस्था, नेतृत्व, सामुदायिक सक्रियता र प्रभावजस्ता मापदण्डका आधारमा ४० जना उद्यमीहरूको छनोट गरिने भएको छ ।
छनोट भएका ४० उद्यमीहरू मध्यबाट दोस्रो चरणमा उत्कृष्ट २० उद्यमीहरू छनोट गरिने बताइएको छ । उत्कृष्ट २० उद्यमीहरूलाई उद्यम नवप्रवर्तन शिविर मार्फत व्यावसायिक योजना सुदृढीकरण गरिनुका साथै उद्यम विकासपूरक साझेदारी प्रदान गरी बजार सम्बन्ध विस्तारमा सहयोग पुराईने भएको छ ।
त्यसपछि उद्यमी र उद्यमको स्थलगत अनुगमन तथा मूल्याङ्कनबाट उत्कृष्ट दश उद्यमको छनोट गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिएका छन् । कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले युवाहरूको विदेश पलायन रोकेर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न उद्यम विकासलाई प्रमुख प्राथमिकतामा राखिएको बताए ।
उनले नगरपालिकामा कृषि, पशुपालन, पर्यटन तथा लघु उद्यममा प्रशस्त सम्भावना रहेको भन्दै यसबाट स्थानीयलाई स्वावलम्बी बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । दायित्वसँगको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रमले रेसुङ्गा नगरभित्र उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन र बजार पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउने बताइएको छ ।
उक्त कार्यक्रम अन्तर्गत उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यावसायिक योजना सुदृढीकरण, वित्त र बजारसँग जोड्ने प्रक्रिया तथा उत्कृष्ट उद्यम चयन गरी विशेष प्रविधि र बजार–सम्बन्धी सहयोग उपलब्ध गराइने संस्थाका वरिष्ठ कार्यक्रम प्रबन्धक सञ्जय पोख्रेलले जानकारी दिए ।
स्थानीय स्तरमै रोजगारी र आय वृद्धि गर्ने लक्ष्यसहित सुरु भएको यस कार्यक्रमले नगरपालिकालाई उद्यममैत्री नगरका रूपमा विकसित गर्ने अपेक्षा गरिएको छ ।