© २०२३
उत्तरआधुनिक कालीन लोकतान्त्रिक भनिएको राज्यमा नकरात्मक पक्षहरू मध्ये सर्बाधिक चर्चामा यतिबेला महिला हिंसा नै छ ।
यद्यपि यस बिरुद्धको अभियानहरू समानान्तर चलिरहेका छन् । समाजमा विद्यमान लैङ्गिक विभेदका कारण हुने कुनैपनि हिंसाजन्य क्रियाकलापहरू जस्तैः महिलालाई बलात्कार तथा यौन दुब्र्यवहार गर्नु, मनोवैज्ञानिक तनाव सिर्जना गर्नु, गाली वेइज्जती र कुटपिट गर्नु, जिउ मास्ने वा बेच्ने कार्य गर्नु, सामाजिक, साँस्कृतिक तथा धार्मिक बहिष्कार गर्नु अर्थात भेदभाव गर्नु आदि सवै कार्य लैङ्गिक हिंसाको परिधिमा पर्दछन् ।
सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, मनोवैज्ञानिक, शारीरिक, मानसिक, आर्थिक, यौनिक आदि विविध खालले यस्ता हिंसाहरू हुन्छन् । परम्परादेखि समाजमा चल्दै आएका कुप्रथाहरू र भेदभावहरू सवै हिंसाहरू हुन् ।
हाम्रो समाजमा हामीले देखिरहेका छौं कि वोक्सी प्रथा, वादी प्रथा, कुमारी प्रथा, सती वालिका शिशुको हत्या गर्ने प्रचलन) ले सोझै महिला विरुद्धका हिंसालाई वढाएको छ । यस्ता कतिपय प्रथामा कुटपिट, गाली बेइज्जती, वहिष्कार, हत्या हुने गरेका छन् भने कतिपय अवस्थामा यौन शोषण हुने गरेको पाइन्छ ।
यसैगरी पुरुषबाट हुने प्रजनन अधिकारको हनन, राज्यबाट हुने राजनैतिक अधिकारको बन्देज र भेदभावकारी नियम आदि पनि हिंसाका अर्को रूप मान्न सकिन्छ ।
पुरुष प्रधान समाजमा विश्वका सवै ठाउँमा लैङ्गिक भेदभावका कारण हिंसाका केन्द्र महिला बनेको पाईन्छ । देश देशवीच हुने युद्धमा होस् वा कुनै समुदायमा होस् महिला हिंसाको पक्ष बग्रेल्ति देखिन्छ । महिला हिंसामा अधिकांश हिंसाहरू यौन व्यवहार वा आकंक्षाका कारण हुने गरेको पाईएको छ ।
जसको मुल कारण महिलाहरू यौनजन्य वस्तु हुन भन्ने मानसिकताको मान्यताको परिणाम हो । पुरुषको महिलाप्रतिको तमाम खाले नकरात्मक प्रवृत्ति र सोचाइका कारण समाजमा लैङ्गिक विभेद सिर्जना गरेको छ । यसै कारण समाजमा महिलालाई लक्षित गरेरै हिंसाका घटनाहरू नदी बगेझै अटुट् वढिराखेका छन् ।
आधा धर्ती ओगटेको महिला वर्ग भनिन्छ तर नाजुक अबस्था पुष्टिने गरी महिला हिंसाको वहस चौतर्फी उठिरहेको छ । सोही प्रकारको घट्नाले आपसी प्रतिस्पर्धात्मक रूपमा दिनहुँ रफ्तार लिएको छ । सञ्चार माध्यम, सार्वजनिक थलो, विभिन्न कार्यालय, संस्थाहरूमा कतै हिंसाका घट्नै घट्ना त कतै हिंसा विरोधी कुरा र कतै समाधानका हल्लाखल्ला सुनिन्छ, भेटिन्छ र देखिन्छ ।
पुरुष हिंसाको प्रसंग, वहस र घट्ना गुन्जायस भने छैन यद्दपि पुरुष हिंसा पनि छन् । यसैवाट पुष्टी हुन्छ कि आधा धरतीको शासक महिलाको हालत के र कस्तो भन्ने ? उनीहरू कति प्रताडित रहेछन् भन्ने कुराको प्रमाण यहि काफी मान्न सकिन्छ ।
प्रश्न खडा छ, यसको दोषी, कारक, सहभागी, पिडक तथा अपराधी को त ? ‘जो चोर उसैको ठुलो स्वर’ भनेझै सोलोडोलो रूपमा कारक, पीडक तथा हिंस्रकहरूले पनि अन्यसँगै ठूल ठूला स्वरमा हिंसा विरोधी तथा महिला मुक्तिको भाषण, गफ र कुरा उठाएको पाइन्छ । यो कारण पनि होला महिला हिंसाको अन्त्य प्रचारमा मात्रै सिमित भएको । बोक्सी र झाँक्री एउटै हुन्छन् कि भन्ने सन्देह यसपालीको निर्मला पन्तको घट्ना सरकारी तहबाटै असमाधानको रहस्यमय अबस्थाले दिलाएको छ ।
त्यसो त आम जनसमुदायमा भ्रमले राम्रै अड्डा जमाएको छ कि ठूला ठूला सञ्चार मिडिया घरहरूवाट यसको विरोध भयो भने महिला हिंसा अन्त्य हुन्छ जस्तो । ठूला ठानिने मान्छेहरूले चर्को भाषण ग¥यो भने अन्त्य हुन सक्छ जस्तो । रेडियो, टि.भी.मा अन्तरवार्तामा कुराकानी चर्कायो भने महिला हिंसा कम हुन्छ भने जस्तो ।
अर्थात तमामलाई सुझवुझमा भ्रम जमेको छ कि पुरुषहरूले महिला हिंसा विरोधी नारा बनाए पुग्छ । नेताहरूले भाषण ठोके हुन्छ । महिला नेतृत्वहरूले राम्रो ब्याख्या गरे हिंसा अन्त्य हुन्छ । अथवा महिला हिंसा विरुद्धको ठूला ठूला सन्धी वा महासन्धीमा सवैले हस्ताक्षर गरे महिला हिंसा अन्त्य हुन्छ वा न्यून हुन्छ भन्ने जस्तो भ्रमकै सिकार प्रायः सवै मनोविज्ञानहरू बनिरहेको अवस्था छ ।
यस्ता भ्रमहरू नै महिला हिंसाका घट्ना परिघट्नाहरूका सेल्टरको राम्रो थलो बन्दै आएको असत्य होइन । यी भ्रमहरू चौतर्फी रूपमा हिंसा अन्त्यको चुनौतिको रूपमा खडा छ ।
हामीले अर्थात आमरूपमा बुझ्नैपर्ने यो छ कि ती प्रकृया र तौरतरिकाहरूले होइन महिला हिंसा अन्त्य गर्ने । महिला हिंसा अन्त्य गर्ने त ब्यवहारले हो । बानी, ब्यहोरा र आचरणले हो । हरेक मान्छेले परिवर्तन ल्याउन ब्यवहारमा उत्रन अनिवार्य छ । जवसम्म ब्यवहारमै लागू हुँदैन तवसम्म नारी जगतले भोग्नुपरेका पीडाले मुक्ति पाउँदैन ।
ती मीठा नौटंकी भाषण, स्वाङ पारा वक्तब्यवाजी, नारा, मिडिया प्रचारतः झिनो र नगन्य सहयोगी भ्रम वाहेक केहि हुँदैन । उस्तै परे अशिक्षत वाहुल्यताको समाजमा झन घट्ना घटाउने जानकारीको रूपमा सहयोगी माध्यम बन्न सक्छ प्रचारत ! हिंसा विरुद्धको सोह्रदिने अभियानले यसको अन्त्य गर्दैन ।
अन्त्य नै गर्ने हो भने हरेक नेपालीले घरघरवाटै शुरु गर्नुपर्छ अभियान । टोल, टोल, समाजवाट शुरु गर्नु पर्छ । राज्य स्तर बाटै ठोस योजना र कार्यत्र्रmमले शुरु गर्नुपर्छ । कुरा कम गर्नै र काम धेरै गर्नुपर्छ । नतिजा ल्याउने ढंगले उत्रनुपर्छ । आ आफुले मम भनेर हिंसात्मक घट्ना तुरुन्त वन्द गर्नुपर्छ ।
अश्लिल स्रोत साधनको उपलब्धताको निराकरण जरुरी देखिन्छ । अझ खास समाधानको कडी त आर्थिक, सांस्कृतिक र सामाजिक कतिपय सिस्टममा परिवर्तन र फेरबदल ल्याउन अति जरुरी छ ।
कतिपय घट्ना बैयक्तिक प्रवृत्ति, बानी र ब्यवहारमा भरपर्ने हुनाले तुरुन्तै सुधार गरिहाल्नु पर्दछ । यस्ता घट्ना घटाउनेलाई दुरुत्साहित गरी वहिस्कार गर्ने, दोषीलाई स्थानीय स्तरमा कारवाही गर्ने र त्यसको कारण पत्ता लगाई निदान गर्नु आवश्यक हुन्छ । सामाजिक साँस्कृतिक कारणहरू हुन सक्छन् ।
त्यसलाई समाजवाटै अनुगमन, निगरानी र समाधान हुन जरुरी हुनसक्छ । अन्धविश्वासका कारण घट्ने घट्नाहरू धेरै हुन्छन् । त्यसको प्रकृति अनुरूप समाज र राज्य तहवाटै समाधान गर्नपर्ने हुनसक्छ । अशिक्षा, अज्ञानता र आर्थिक कारण महिला हिंसा फस्टाएका अवस्था प्रति भने राज्य गम्भीर नभई हुँदैन ।
हरेकलाई शिक्षा दिने दायित्व शिक्षा मन्त्रालय मार्फत राज्यको होइन र ? यसको लागि राज्यले ब्यवहारिक कदम चालेर मात्र सम्भव हुन्छ । अपराधिक घट्नामा संलग्नहरूलाई जतानामको सस्तो लोकतन्त्रको अभ्यास गर्ने राजनीतिक दलहरूले गुँढ दिन वन्द नगरी हुँदैन ।
अपराधीको राजनीतिकरण र राजनीतिको अपराधीकरण बन्द गर्नु ठुलो महत्व तथा अनिवार्यताको विषय हो । महिला हिंसा लगायतका तमाम खाले हिंसाहरूका स्थायी घरनै त्यही हो । राजनीतिकरण नै ती हिंसाहरूका अविभाभक भएको भनेमा असत्य ठहर्दैन । राज्य तहवाट दण्ड सजायको राम्रो नीति, नियम र प्रभावकारी कानुन तर्जुमा गर्ने मात्र होइन प्रभावकारी ढंगले लागु गर्नु अपरिहार्य छ ।
राज्य वा सरकारका सहयोगि संस्थाहरू सेना, प्रहरी भित्रै हिंस्रकहरू छन् भन्े राज्य निर्मम् भई अपराधीलाई कारबाही गर्नै पर्छ । त्यसो त खाली अपराधीलाई सजाय दिनु उत्तम समाधान होइन नत हिंसात्मक घट्नाको निर्मूलीकरणको अचूक विकल्प नै हो । अझ राजनीतिक दलहरूले यस्तो घट्नाले झ्याङ हाल्ने टेका बनेको राजनीतिक संरक्षण चाँडो अन्त्य गर्नुपर्ने हुन्छ ।
राज्यले महिला हिंसा अन्त्य गर्ने नै हो भने हिंसाका कारणहरू र वातावरणहरूका गम्भीर अध्ययन गरी त्यसको भ्रुण नै उत्पन्न नहुने ढंगले वातावरण सफा राख्नु नै स्थायी समाधान हुन सक्छ । यी अवस्थाको दीर्घकालीन समाधानको लागि जरामा पुग्नु आवश्यक छ । रोग लागेपछि उपचार गर्नु भन्दा रोगकै वाटो छेक्ने सोच र योजना घरपरिवार, समाज र राज्यको भएमा समस्याको छिनोफानो पक्कै होला ।
महिलालाई ब्यवहारिक रूपमै पुरुषकै स्थानमा उभ्याउन सके पनि हिंसा अन्त्यको सहयोग हुन सक्दछ । अझ महिला हिंसामा विभिन्न ढंगले र प्रत्यक्ष वा परोक्ष महिलानै कारक बन्नै हुँदैन । यो पनि महिला हिंसा न्यूनिकरण र अन्त्यको अनिवार्य सर्त हो । तर समाजमा बिचित्रको संगम छ गर्ने एउटा, भन्ने अर्को ।
अंग्रेजीमा न्वइङ र डोइङ भनिन्छ अर्थात थाहा पाई एउटा, तर गराई अर्को । हामीलाई धुम्रपान गर्न हुंदैन भन्ने राम्ररी थाहा छ तर सधै चुरोट, खैनी, सुर्ती लिन्छौं । हामीलाई जाँड, रक्सी पिउन हुंदैन भन्ने थाहा छ, तर पिउँछौं । हामीलाई असल, गुणी र राम्रो ब्यवहारको हुनुपर्छ भन्ने थाहा छ तर खराब हुन्छौं वा खराब काम गरिरहेका हुन्छौं । हामीले हिंसा वा महिला हिंसा गर्न हुंदैन भन्ने थाहा छ र भन्छौं पनि तर आफै गरिरहन्छौं । समस्या नै यहिँ छ हाम्रो वा नेपाली समाजको ! ।