Butwal Today

पूर्व पतिसँग होमस्टे बस्न गएकी महिला मृत अवस्थामा फेला

१६ मंसिर २०८२, मंगलवार
अ+
अ-

बर्दिया, १६ मंसिर ।

पूर्वपतिसँग होमस्टेमा बस्न गएकी एक महिलाको शव नजिकैको जङ्गलमा गाडिएको अवस्थामा फेला परेको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्वर २ पितमारि बस्ने १९ वर्षीय नारायण परियार र उनकी पूर्वपत्नी, खजुरा गाउँपालिका वडा नम्वर ६ सिमलघारीकी २१ वर्षीया देबिसरा खत्री मंसिर ९ गते राति मिनी गाभर होमस्टेमा बसेका थिए ।

तीन दिनसम्म सम्पर्क नभएपछि खोजतलासका क्रममा देबिसराको शव होमस्टे नजिकैको जङ्गलमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको घाँटीमा पासो लागेको जस्तो देखिएको र घटनालाई शंकास्पद मानेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

घटना भएको तीन दिनपछि आरोपी नारायण परियार स्वयं इलाका प्रहरी कार्यालय कोहलपुर पुगेका छन् । उनले घटनासम्बन्धी जानकारी दिएको र सोही आधारमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको बताइएको छ ।