© २०२३
काठमान्डौ, १६ मंसिर ।
नेपाली कांग्रेसले माघ ११ गते तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न सम्बन्धित निकायहरूलाई परिपत्र गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू अनुसार परिपत्र जारी गरेका हुन् ।
केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ, “माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विधानको धारा ३२ को उपधारा ९ (क) तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक सदस्यहरूको उम्मेदवारीका लागि विधानको धारा ३२ को उपधारा ८ (क) बमोजिम प्रक्रिया पूरा गरी उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत स्पष्ट निर्देशनसहित परिपत्र गरियो ।”
कांग्रेसले तल्ला संरचनाबाट मंसिर मसान्तभित्र नाम प्राप्त भएपछि प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टिकट एकैपटक वितरण गर्ने जनाएको छ ।