© २०२३
काठमाडौँ ।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) का बुवा डा रामनारायण शाहको सोमबार ‘मल्टिपल अर्गान’ फेल भएर मृत्यु भयो। पिसाबको संक्रमण देखिएका उनको ७७ वर्षको उमेर निधन भएको हो।
पिसाबको संक्रमण उनको शरीरभरि फैलिएको थियो। संक्रमणका कारण उनी बेहोस भए। बेहोस हुनेबित्तिकै उनलाई आइतबार बिहान १० बजेर १५ मिनेट जाँदा नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पताल पुर्याएको थियो। अस्पताल पुग्दा उनको मुटुले काम गर्न छोडिसकेको थियो। उनलाई कार्डियाक अरेस्ट भएको चिकित्सकले परिवारलाई जानकारी दिए। तत्काल उनलाई सीपीआर दिइयो।
उनको मिर्गौलाले पनि काम गर्न छोडेको थियो। त्यसपछि तत्काल डायलासिस गराइयो। स्वास्थ्य अवस्था सुधार नभएपछि भेन्टिलेटरमा राखेर उपचार गरियो। तर, पिसाबको संक्रमण शरीरभरि फैलिएका कारण चिकित्सकले बचाउन सकेनन्। उपचारकै क्रममा सोमबार १२ बजेर २० मिनेट जाँदा उनको मृत्यु भयो।
अस्पतालका आईसीयू चिकित्सक डा प्रदीप तिवारीले पिसाबको संक्रमण शरीरभरि फैलिएका कारण शाहलाई ‘कार्डियाक अरेस्ट’ भएको जानकारी दिए।
‘उहाँलाई तीनचार दिनदेखि पिसाबको संक्रमण देखिएको रहेछ। संक्रमण शरीरभरि फैलिएर, मिर्गौला, कलेजोले काम गर्न छोड्यो। बिस्तारै मुटुले काम गर्न नपाएपछि कार्डियाक अरेस्ट भयो। त्यस कारण उहाँको मृत्यु भएको हो,’ उनले भने।
डा तिवारीले भने, ‘अस्पताल पुग्दा बेहोस हुनुहुन्थ्यो। तत्काल सीपीआर दिएका थियौँ। तर, अस्पतालबाहिर कार्डियाक अरेस्ट भएकालाई बचाउन निकै गाह्रो हुन्छ। अस्पताल बाहिर कार्डियाक अरेस्ट भएका १० देखि १५ प्रतिशत मात्र बाँच्ने सम्भावना हुन्छ। इन्फेक्सनले अन्य अंगमा असर गर्दा सेप्टिक सक भएको हो।’