© २०२३
काठमान्डौ, १४ मंसिर ।
नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा कोशी प्रदेशका दुई सांसद पराजित भएका छन् । सुनसरी–१ क्षेत्रअन्तर्गतको निर्वाचनमा प्रदेश सभा सांसद रमेशकुमार बस्नेत र विजयकुमार राई प्रतिस्पर्धामा हार बेहोरेका हुन् । दुवैजना संस्थापन पक्षबाट उम्मेदवार थिए ।
बस्नेतले ३७६ तथा राईले ३९१ मत प्राप्त गरे । खुला तर्फबाट आसाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निर्वाचित भएका छन् । उनीहरूले क्रमशः ६७४, ७७६ र ७९६ मत ल्याए ।
महिलातर्फ दुई कोटामा सीता भण्डारी पौडेल ७६६ मतसहित र सुशीला पहाडी ढकाल ७१५ मतसहित निर्वाचित बने ।
युवातर्फ दिवस वान्तवा राई ८८६ मतसहित विजयी भए । सो कोटामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल र पूर्वमुख्यमन्त्री भीम आचार्यका स्वकीय सचिव अनिल राजधामी पनि प्रतिस्पर्धामा थिए ।
एमाले धरान नगर कमिटीका अनुसार विजयीमध्ये मुरारी सुवेदीबाहेक सबै उम्मेदवार इतर पक्षका हुन् ।