© 2026
बुटवल, १३ मंसिर ।
नयाँगाउँ खानेपानी तथा सरसफाइ संस्थाभित्र उत्पन्न विवादले बुटवलका १२ र १३ नम्बर वडाका करिब पाँच हजार उपभोक्ता बीच चासो बढेको छ। अल्पमत पक्षले संस्थामा अनियमितता र बिधान उल्लंघन गरेको आरोप सार्वजनिक गरेपछि संस्थाको नेतृत्वले ती आरोपहरूलाई पूर्णतः निराधार भन्दै कडा खण्डन गरेको छ।
परिषद् सदस्यहरूको एक समूहले पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष तथा पदाधिकारीले अनियमित रूपमा साधारण सभा सञ्चालन गरेको, प्रचलित कानुन विपरीत निर्णयहरू लिएको र आर्थिक हिनामिना गरेको आरोप लगाएका थिए। उनीहरूले २७ जना परिषद् सदस्यको उपस्थितिमा साधारण सभा बहिष्कारसमेत गरेका थिए।
तर, बहुमत पक्षले ती सबै आरोपहरूलाई ‘सांगठनिक अनुशासन भंग गर्दै गरिएका भ्रामक दाबी’ भनेर टिप्पणी गरेको छ। संस्थाका पदाधिकारीहरूको भनाइअनुसार संस्थामा कुनै प्रकारको हिनामिना नभएको र कामका क्रममा देखिने सानातिना कमी कमजोरी तत्काल सुधार्दै अघि बढिरहेको स्पष्ट पारेका छन्।
अध्यक्ष मिना घर्ती जिसीले संस्थाबाहिर मच्चाइएको विवादलाई ‘ठूलो बनाइएको बिषय’ भन्दै खण्डन गरिन्। उनका अनुसार तीन वर्षदेखि स्थगित हुँदै आएको साधारण सभा आफू नेतृत्वमा आएपछि सफलतापूर्वक सम्पन्न गरिएको हो।
उनले पानीको दरसमेत उपभोक्ता हितमा परिमार्जन गरिएको उल्लेख गरिन्।
“पहिले १२ हजार लिटरको शुल्क १०० रुपैयाँ थियो, हामीले घटाएर ८० रुपैयाँ बनायौं,” अध्यक्ष जिसीले भनिन्।
त्यसैगरी महिला उपभोक्तालाई प्रोत्साहन गर्न धारा जडानमा ६.५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको बताइन्।
जिसीले संस्थाको आधिकारिक बैठक वा साधारण सभामै आएर आफ्ना विचार राख्न सकिने जनाएको भन्दै बाहिरबाट आरोप लगाउनु संस्थाको छवि बिगार्ने प्रयास भएको टिप्पणी गरिन्।
संस्थाका कानुनी सल्लाहकार लेखनाथ ढकालले अल्पमत पक्षले उठाएका मुद्दाहरू कानुनीरूपमा आधारहीन रहेको दाबी गरे।
“५०० भन्दा बढी उपभोक्ता भएको संस्थाको साधारण सभा परिषद् सदस्यद्वारा हुन्छ भन्ने कानुनी प्रावधान स्पष्ट छ। उपभोक्ता आधाभन्दा बढी उपस्थित हुनुपर्छ भन्ने कुरा निराधार हो,” उनले भने।
बँदेल पोखरी टंकी मर्मत उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद भूसालले मर्मत कार्यमा कुनै आर्थिक अनियमितता नभएको स्पष्ट पारे। मजदुर नपाउँदा केही समय काम रोकिएको मात्र बताउँदै अहिले मर्मत पूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए।
बुटवल–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्माले संस्थाका गतिविधि निरन्तर निगरानीमा रहेको जनाउँदै कानुनअनुसार काम गर्न कसैसँग डराउन नपर्ने बताए।
उनले झुटा आरोप लगाएर संस्थाको काममा अवरोध सिर्जना गर्ने प्रयासलाई अस्वीकार्य बताउँदै, “आफूले राम्रो काम गर्न नसक्ने, अरूले गरेको पनि सहन नसक्नेहरूले यस्तो वातावरण बनाएका हुन्,” टिप्पणी गरे।
नयाँगाउँ खानेपानी संस्थामा बढ्दो आरोप–प्रत्यारोपले अब आगामी कदम कस्तो हुन्छ भन्नेबारे उपभोक्ताहरु पनि प्रतीक्षारत छन्।