Butwal Today

बौलायो भनेका देवानन्दको सपना: आज बाँकेको सबैभन्दा आकर्षक रिसोर्ट

१३ मंसिर २०८२, शनिबार
अ+
अ-

नेपालगञ्ज, १३ मंसिर ।

प्रकृतिसँग नजिक हुन चाहने व्यक्तिहरूका लागि बाँकेको ‘अगैया स्प्रिङ रिभरसाइड रिसोर्ट’ आजकल नयाँ आकर्षण बनेको छ । अझै औपचारिक रूपमा सञ्चालनमा नआइसके पनि यहाँ फोटो खिच्न, भिडियो बनाउन र अर्गानिक परिकार चाख्न दैनिक रूपमा भीड लाग्ने गरेको छ ।

राप्ती सोनारी गाउँपालिका–२ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको अगैया बजारदेखि तीन किलोमिटर पश्चिम र राजमार्गदेखि एक किलोमिटर दक्षिणतर्फ, राप्ती नदीको शान्त किनारमै अवस्थित गोबारपुर गाउँमा यो सुन्दर रिसोर्ट छ ।

गोबारपुर बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार क्षेत्रसँगै पाटे बाघको मुख्य बासस्थान क्षेत्र पनि हो । दुवैतर्फ फैलिएको घना जंगल, बीचबाट बगिरहेको राप्ती नदी र बिहान–बेलुकी पानीमा टल्मलिने सूर्यको प्रकाशले यहाँ आउने जो कोहीलाई मोहित पार्छ । रातको पहरमा सिक्टा सिँचाइ ब्यारेजबाट झलमल चम्किने बत्तीसँग रमाइलो दृश्य अझै मनमोहक देखिन्छ । यही स्वर्गीय वातावरणभित्र रातो आकर्षक छाना र युरोपियन ‘डच फ्रेम’ प्रविधिको आधुनिक सौन्दर्य जोडिँदा रिसोर्टको बनावट सबैले हेर्दै मोहित हुने बनाएको छ ।

  यो नयाँ गन्तव्यलाई जन्म दिने व्यक्ति हुन्—बाँकेका चिरपरिचित होटल तथा पर्यटन व्यवसायी देवानन्द अर्याल । बाल्यकालको सम्झना, विदेशको संघर्ष र सानैदेखि बोकेको एउटा सपना कोहलपुर निवासी ४८ वर्षिय देवानन्द सानैदेखि होटल व्यवसायतर्फ विशेष आकर्षित थिए । घरनजिकैका होटलमा विदेशी पाहुनाहरू आउँदा, खाँदा, बस्दा हेर्दै उनी रमाउने गर्दथे—त्यसले उनको मनमा ‘एकदिन म पनि होटल खोलेर पाहुनालाई स्वागत गर्नेछु’ भन्ने सपना रोपिदिएको थियो ।

२०५८ सालमा उनी रोजगारीका लागि कोरिया गए र २०६५ मा फर्किएपछि होटल व्यवसायमा लागे । २०६६ मा कोहलपुरमा ‘तारे होटल सेन्ट्रल प्लाजा’ खोले अनि पछि नेपालगन्ज मेडिकल कलेज अगाडि सोही नामको अर्को होटल सञ्चालन गरे । दुवै होटलबाट उनी राम्रो कमाइ गरिरहेका थिए । तर कोरोना महामारी आयो—व्यवसाय धराशायी भयो । दुवै होटल बेच्नुपर्यो । तर उनका सपना र साहस भने कहिल्यै हार मानेनन् । २०७८ मा उनले बर्दियाको ठाकुरद्वारामा ‘जंगल सेन्टर प्लाजा’ खोले, जुन अहिले पनि राम्रोसँग चलिरहेको छ ।

राप्ती किनारमा देखिएको स्वर्ग र जन्मियो अर्को ठूलो सपना

कोभिडपछि २०७८ सालमा परिवारसँग वनभोजका लागि गोबारपुर आउँदा देवानन्द पहिलो पटक यहाँको सौन्दर्यसँग गहिरो गरी परिचित भए । पानीका छालहरू, घना जंगल, चराहरूको गलाकाट टाढै सुनिने, हावा चल्दा खस्ने पातहरूको आवाज—सबैले उनलाई एउटा कुरा सिकायो— “यहाँ रिसोर्ट भए, मानिसले खुशी खोजेर आउँछन् ।” र त्यही क्षण उनले नयाँ सपना जन्माए—एकदमै ठूलो, साहसी र जोखिमपूर्ण सपना —“रिसोर्ट खोल्छु” भन्ने त्यो एउटा वाक्यले उनको जीवनलाई फेरि मोडिदियो । त्यही देखापरेको सपना अहिले रूप लिएको छ—‘अगैया स्प्रिङ रिभरसाइड रिसोर्ट’मा ।

गत भदौदेखि अनौपचारिक रूपमा सञ्चालित यो रिसोर्टमा युरोपियन स्टाइलका १३ वटा आकर्षक भवन र सयौं पर्यटकलाई लोभ्याउने सुन्दर कटेजहरू छन् । सबैजसोलाई रातो छानाको आकर्षक साजसज्जाले झनै मनमोहक बनाएको छ ।
पाहुनाका लागि २५ वटा कोठा तयार छन्, पाँच अझै निर्माणाधीन छन् । एकैपटक ९० जना बस्न मिल्छ । कार्यक्रमका लागि ३०० जना अट्ने विशाल हल छ । रेस्टुरेन्टमा डेढ सय जनाले आरामसँग बसेर खान सक्छन् । घुम्नका लागि बगैंचा, चिया खान टेबल–कुर्सी, ठूलो स्विमिङ पुल—सबै व्यवस्था छन् । पार्किङमा ५० वटा कार र डेढ सयभन्दा बढी दुईपांग्रे राख्न सकिन्छ ।
खाना, बसोबास, साहसिक गतिविधि—सबैको अनुभव एकै ठाउँमा ।

सिंगल, मास्टर र ट्रिपल बेडका कोठाको दर क्रमशः २,५०० देखि ३,५०० रुपैयाँसम्म छ । खानामा शाकाहारी, ब्रोइलर मासु, राप्तीको माछा, लोकल कुखुरा र खसी मासु—सबै अर्गानिक स्वादमा लिन सकिन्छ । पाहुनाले चाहँदा आफैं पोलेर खाने सुविधा पनि छ ।

त्यसैगरी—जिप सफारी (१० जना अट्ने क्षमता) – १३,००० शुल्कमा गर्न सकिन्छ । डेढ घन्टाको बोटिङ – २५०, साढे दुई घन्टाको ¥याफ्टिङ – १,२५० शुल्क तिरेर गर्न सकिन्छ । राप्तीमा बोटिङ गर्दै मदुवा पुलसम्म पुग्ने क्रममा नदी किनारमै ‘टी ब्रेक’ दिने रमाइलो सुविधा छ । रिसोर्टमा दुईवटा सफारी जीप उपलब्ध छ । दुई महिनामै १० भन्दा बढी ट्रिप सफारी गरिसकिएको छ । चुरे, मुगुवा मचान, खैरी घाँसेमैदान हुँदै ४–५ घण्टाको जंगल यात्रामा कसैको भाग्य खुल्यो भने पाटे बाघ देख्न पाइने सम्भावना प्रवल रहने देवा नन्द बताउँछन् । नभए पनि लोपोन्मुख अन्य वन्यजन्तु देखेर पर्यटक रमाउँछन् ।

साढे १२ करोड लगानी, अझै कतिपय संरचना निर्माणाधीन

निर्माण सुरु भएको १३ महिनाभित्र १२ करोड ५० लाख लगानी भइसकेको छ । प्रोजेक्टको कुल लागत योजना १५ करोड रहेको देवा नन्दको भनाई छ । थप कटेज, चिल्ड्रेन पार्क, बाहिरी साजसज्जा, लाइटिङ—काम निरन्तर चलिरहेको छ ।
रिसोर्ट सञ्चालन भएको केही दिनमै रमाइलो घटना पनि भयो । देवानन्द भन्छन् — “हाम्रो बोर्ड राजमार्गको छेउमा टाँसेर आएको केही मिनेटमै एक इटालियन नागरिक आएर पहिलो कोठा बुक गरे ।

“राजमार्गमा राखेको बोर्ड देखेर इटालियन नागरिक सीधै रिसोर्टमै आए,” उनी गर्वसँग भन्छन्, “रिसोर्टमा बास बस्ने पहिलो पाहुना नै विदेशी पर्यटक हुन् ।”

जग्गा किन्नै तीन वर्ष — ‘बौलायो’ भनेका स्थानीय आज दंग

राप्ती किनारमा एक बिघाभन्दा बढी जग्गा किन्न उनले तीन वर्ष संघर्ष गरे । दस जनालाई मनाएर मात्र जमिन जुटाउन सके । २०८१ साउनमा जग बसाल्दा यहाँ ठूलो रिसोर्ट बन्नेछ भनेर स्थानीयले पहिले सम्झनै सकेनन् । कसैले त उनलाई बौलायो समेत भने । तर आज त्यही स्थानीयहरू रिसोर्टको रौनक देखेर चकित छन् । अहिले दैनिक २०० जना फोटो–भिडियो खिच्न मात्र आउने गर्छन् । शनिबार त भीड थेग्नै गाह्रो हुन्छ, देवानन्द हाँस्दै भन्छन् । टिकटक र रिल्सले नै प्रमोशन गरिदिएको छ ।

उनका अनुसार रिसोर्टमा बढी जसो दाङ तुलसीपुर, सुर्खेत, नेपालगञ्ज र कोहलपुरबाट आउने गरेकाछन् । होटल ब्यावसायमा १६ वर्ष बिताईसकेका देवानन्द भन्छन्, “अहिले सम्मको ब्यावसायमा सबैभन्दा सन्तुष्ट यहि रिसोर्टबाट छु ।”

‘अगैया स्प्रिङ रिसोर्ट’ अब ‘गोप्य सुन्दर थलो’ होइन, बाँकेको सबैभन्दा चर्चित नयाँ गन्तव्य बनेको छ । स्थानीयहरूका आँखामा गोबारपुरको नयाँ पहिचान देखिन थालेको छ । राप्ती सोनारी–३ बैसाका श्रीप्रसाद थारु भन्छन्, “पहिले भैंसी गोठ राख्थ्यौं, आज त्यही ठाउँमा यति सुन्दर रिसोर्ट र यहाँ आउने थरीथरीका गाडी देखेर सपना जस्तै लाग्छ ।” पहिले बर्खामा नदी तरेर जंगल चरनमा लैजानुपर्ने भैंसी गोठहरूको लस्कर यहि ठाउँमा थियो । आज त्यही ठाउँ होटल–रिसोर्टको चमकले उज्यालो भइरहेको छ ।

रिसोर्टमा हाल २१ जना स्थानीय युवाले रोजगारी पाएकाछन्् । राप्ती सोनारी–२ अगैयाकी रिया डिसी भन्छिन्, “हामी यहीँ जन्मेर यहाँको जंगल–नदीलाई साधारण ठान्थ्यौं । तर पाहुनाले यही सुन्दरतामा रमाएर फर्किदा हामी अत्यन्त खुशी हुन्छौं ।” देवानन्द स्वयं युवाहरूलाई हस्पिटालिटी तालिम दिँदैछन् । उनी भन्छन् “ग्रामीण क्षेत्रमा दक्ष जनशक्ति अभाव हुन्छ । राज्यले हस्पिटालिटी र प्राविधिक शिक्षामा थप जोड दिनुपर्छ ।”

औपचारिक उद्घाटन — डिसेम्बर ३१ मा भव्य सांगीतिक साँझ

करिब तीन महिना बढी समय सम्म अनौपचारिक सञ्चालनपछि, अब डिसेम्बर ३१ अर्थात अंग्रेजी नयाँ वर्षको अवसरमा भव्य उद्घाटन कार्यक्रम हुनेछ । स्थानीय कलाकार र विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतीलाई प्राथमिकता दिइनेछ । त्यसपछि हरेक शुक्रबार ‘साँस्कृतिक साँझ’ कार्यक्रम सञ्चालन गरिने छ ।

सँच्चिकै भन्ने हो भने राप्ती नदीको काखमा, प्रकृतिको गर्भभित्र, एक सपनाले आकार लिएको छ । अगैया स्प्रिङ रिभरसाइड रिसोर्ट केवल एउटा होटल मात्र नभएर यो बाँकेको उदीयमान पर्यटन भविष्यको सुन्दर पहिचानको रुपमा स्थापित हुँदै छ । देवानन्दको एउटै गुनासो छ –‘लगानी मैत्री बैङ्किङ प्रणाली छैन ।’ उनी भनछन् —“स्वदेशमै केही गर्न चाहनेहरुलाई राज्यले पहिचान गर्न नसक्दा मजस्तै जस्तै कयौं ब्यावसायीहरु पछाडी हट्न बाध्य भईरहेका छन् यो राज्यलाई नै घाटा हो ।”