© २०२३
बुटवल, १२ मङ्सिर ।
औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेजीको माग राख्दै रुपन्देहीमा विरोध प्रदर्शन गरिएको छ ।
नेपाल औषधी व्यवसायी सङ्घ, नेपाल पशुपक्षी औषधी व्यवसायी सङ्घ र नेपाल आयुर्वेद औषधी व्यवसायी सङ्घसहितको सङ्घर्ष समितिले हस्पिटल लाइनमा शुक्रबार प्लेकार्ड प्रदर्शनसहित विरोध प्रदर्शन गरेको हो ।
संशोधित ऐनका केही प्रावधानहरू व्यावहारिक नभएको र व्यवसायीहरूको अस्तित्वमा खतरा पु¥याउने भएको भन्दै व्यवसायीहरूले तत्काल खारेजीको माग गरेका छन् ।
संशोधन अनुसार, औषधी पसलको दर्ता नवीकरणको म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनसम्म पनि नवीकरण नगरेको खण्डमा स्वतः संस्था खारेज हुने प्रावधान राखिएको छ । यसका कारण व्यवसायीहरूको लागि कठिनाइ उत्पन्न भएको र पेसागत सुरक्षा सङ्कटमा परेको नेपाल औषधी व्यवसायी सङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपानेले बताए ।
देशभरका औषधी व्यवसायीहरू आआफ्नो क्षेत्रमा आन्दोलनका कार्यक्रम अनुसारका कार्यक्रम गरिरहेका छन् । संशोधित दफा ११ को उपदफामा संविधानको मर्म विपरीत र व्यवसायीहरूलाई त्रसित बनाउनका लागि बनाइएको प्रावधान भएको नेपाल औषधी व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष खड्ग बस्नेतले बताए ।
‘हाम्रो आपत्ति यसैमा छ ।’– उनले भने । ११ मङ्सिरदेखि १६ मङ्सिरसम्म विरोधका विभिन्न कार्यक्रमहरू तय गरिएको छ । व्यवसायीहरूको विरोध कार्यक्रम मङ्सिर १६ गतेसम्म चल्नेछ र यदि सरकारले प्रतिक्रिया नदिएमा १७ मङ्सिरदेखि अनिश्चित कालीन बन्द र हडतालका कार्यक्रम थाल्ने चेतावनी दिइएको छ ।