© २०२३
नेपालगञ्ज, १२ मंसिर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ६ मा यस वर्ष शिक्षाको गुणस्तर उकास्ने अर्को प्रयास गरिएको छ । शिक्षक, विद्यार्थी र अभिभावकलाई एउटै थलोमा राखेर ‘उत्प्रेरणा कार्यक्रम’ सहित निकै अलग, अर्थपूर्ण र भावनात्मक प्रयास गरिएको हो ।
वडा नम्बर ६ को शिक्षा समितिले कमैयाडाँडास्थित खेलमैदानको खुला आकाशमुनि आयोजना गरेको कार्यक्रमले बिहीबारको दिनलाई नै प्रेरणाको रंगमा रंगाइदिएको आभाष भएको कार्यक्रममा सहभागीले बताए । शिक्षा क्षेत्रका ख्यातिप्राप्त मोटिभेसनल स्पीकर क्षेत्रप्रसाद ज्ञवालीको जादुमय शब्द, अनुभव र जीवनदर्शनले सहभागीहरूका मनमा ऊर्जा भरिदिएको एक अभिभावकहरुले बताए ।
उत्प्रेरक वक्ता ज्ञवालीले विद्यार्थीलाई केवल पढाइमा मात्र होइन, संस्कार र असल बानीमा पनि उत्तिकै ध्यान दिनुपर्छ भन्दै मन छुने सन्देश दिए । बच्चाले बोल्ने भन्दा देखेर सिक्ने भएकाले अभिभावक र शिक्षक दुवैको व्यवहारमै शिक्षा लुकेको हुन्छ भन्दै उनले बलियो प्रेरणा जगाए । झुटो नबोल्ने बानी, जंकफुडबाट टाढा रहने, मोबाइलको दुरुपयोग नगर्ने, असल साथी रोज्ने, जस्ता मूलभूत अनुशासनलाई जीवन सफलताको आधार रहेको उनले बताए ।
उनका तीव्र भावनात्मक उदाहरण र जीवनकथाले धेरै अभिभावक, शिक्षक र विद्यार्थीहरूले आँसु झारे । करिब तीन घण्टासम्म उनी बोलिरहँदा मैदानमाथि शान्त र गहिरो अनुभूति छायो । कार्यक्रममा राप्तीसोनारी–६ का ३ माध्यमिक, ५ सामुदायिक र ३ संस्थागत गरी ८ विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक गरी करिब २ हजार जनाको सहभागिता थियो । शिक्षा क्षेत्रमा यस्तो विशाल संख्याको संयुक्त जमघट दुर्लभ मानिन्छ ।
कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेलले शिक्षामा गुणस्तर वृद्धि शिक्षक, अभिभावक र विद्यार्थी—यी तीन पक्षको त्रिकोणीय सहकार्यबाट मात्र सम्भव हुने बताए । उनले भने, “सबैलाई जवाफदेही र सक्रिय बनाउने नै आजको उद्देश्य हो । गुणस्तरीय शिक्षा अब हाम्रो साझा प्रतिवद्धता हो ।”
प्रमुख अतिथि तथा राप्ती सोनारी वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुले पनि शिक्षालाई मजबुत बनाउन विद्यार्थी, शिक्षिक र अभिभावकको एकीकृत प्रयास अपरिहार्य रहेको बताए । उनका अनुसार, प्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावक एउटै गतिमा नचलेसम्म वास्तविक सुधार सम्भव हुँदैन । यसरी, राप्तीसोनारीमा गरिएको यो संयुक्त उत्प्रेरणा कार्यक्रमले केवल विद्यार्थीलाई मात्र होइन, अभिभावक र शिक्षकलाई पनि आत्मविश्लेषण र नयाँ संकल्पको बाटो देखाइदिएको कार्यक्रममा सहभागीहरुले अनुभव सुनाए ।