© २०२३
जनकपुरधाम ।
मधेस प्रदेश सरकारले आज विवाह पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा गरिएको जानकारी दिएको हो ।
सूचनामा भनिएको छ, ‘मधेस प्रदेश सरकारद्वारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने बिदा सम्बन्धी सूचनाअनुसार मिति २०८२ साल मङ्सिर ९ गते, मङ्गलबारका दिन विवाह पञ्चमीको सार्वजनिक बिदा भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा–आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् राम र सीताको विवाह महोत्सव आज विधिपूर्वक आयोजना हुँदै छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दिनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाइने गरेका छन् ।