© २०२३
पछिल्लो समय नेपाली चलचित्र उद्योगले नयाँ आशा र सम्भावनाको दियो बाल्ने प्रयास गरिरहेको छ ।
केही बर्षअघिसम्म नेपाली चलचित्र उद्योगमा गरिएको लगानीलाई ‘बालुवामा पानी’ भन्ने गरिन्थ्यो तर केही वर्षयता चलचित्र उद्योगले आशातीत सफलता पाउन थालेका छन् । नेपाली दर्शकको माया पाउन थालेका छन् ।
नेपालमा केही हुँदैन भन्ने निराशाको कुरा गर्नेहरूका लागि चलचित्र उद्योगमा गरेको लगानी उठ्छ र निर्माताले फाइदा समेत कमाउन सक्छन् भन्ने ग्यारेन्टी हुन थालेको छ । त्यो भनेको नेपालमै स्तरीय चलचित्र बनाउने क्रम सुरु भएको छ भन्ने एउटा गतिलो प्रमाण पनि हो ।
केही वर्षयता बनेका नेपाली चलचित्र जसको नाम लिए पनि दर्जनौँ बढी हुनसक्छ । दर्शकले रुचाउने, दर्शकको मन छुने चलचित्रको निर्माणले थोरै भए पनि नेपाली चलचित्र उद्योगले खुसी र उत्साह दिएको छ ।
गत बर्षहरूमामात्रै ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपालको चलचित्र इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने श्रेणीमा नाम राख्न सफल भएको थियो । त्यसअघि पनि थुप्रै चलचित्रले लगानी मात्रै उठाएनन्, प्रशस्तै नाफा कमाएको उदाहरण छ ।
पछिल्ला नेपाली चलचित्रले नेपाली समाजको वास्तविक चित्र पस्किन थालेका छन् । गाउँ सहरको यथार्थ कथावस्तु उत्कृष्ट अभिनयमार्फत चलचित्रलाई जीवन्त बनाउन सफल हुँदै आएका छन् ।
पछिल्लो पटक आएको ‘परान’ नामक चलचित्रले नेपाली समाजको यथार्थ विषयवस्तुलाई अभिनयमार्फत उत्कृष्ट बनाउन सफल भएको छ । बक्स अफिसका अनुसार ‘पूर्णबहादुरको सारङ्गी’ ‘छक्का पन्जा ५’ ‘१२ गाउँ’ आशीर्वाद लगायतका धेरै चलचित्र बनेका छन्, जसको नाम लिँदा पनि धेरै हुनसक्छ ।
पछिल्लो पटक परान चलचित्र थपिएको छ, जसले नेपाली चलचित्रमाझ आशा भरेको छ । चलचित्र उद्योगलाई जीवन्त बनाउन सफल भएको छ । नेपाली चलचित्रले व्यापार बढाई रहँदा कुनै बेला नेपालभित्रै उच्च व्यापार गर्ने भारतीय चलचित्रको व्यापार खुम्चिएको छ ।
यो खुसीको कुरा हो । किनभने नेपाली पैसा विदेश जान धेरै कम भएको छ । नेपाली दर्शक अहिले सिनेमा हलमै गएर नेपाली चलचित्र हेर्ने अवस्था आएको छ । यसले चलचित्र निर्माणको क्षेत्रमा मात्रै होइन, सिनेमा हलमा लगानी गरेकाहरूका लागि पनि आशाको दियो बालेको छ ।
विक्रमसम्मत २०५० देखि ७० को दशकसम्म धेरै चलचित्र हल बन्द भए । बचेका सिनेमा हलले घाटाको व्यवसाय गरिरहेका थिए तर अहिले अवस्था फेरिएको छ । पहिले भारतीय चलचित्र हेर्न हलहरू ‘हाउस फुल’ हुने गरेकोमा अहिले नेपाली चलचित्र हाउस फुल भइरहेका छन् ।
विगतकै कुरा गर्ने हो भने नेपाली चलचित्रप्रति हामी नेपालीले नै हेय भावना राख्ने जमाना थियो । नेपाली चलचित्र राम्रो हुँदैन भन्दै भारतीय चलचित्र हेर्ने प्रचलन बढेकै थियो तर जमाना फेरिएको छ ।
अहिले नेपाली चलचित्रले बजार मात्रै होइन, दर्शकको माया पाउन थालेका छन् । त्यसको मुख्य कारण भनेको नेपाली चलचित्र स्तरीय भएकै कारण हो । कथावस्तुले नेपालीपन दिन थालेका छन् । नेपालको यथार्थ जीवन पस्किन नेपाली चलचित्र उद्योग सफल हुँदै गएका छन् ।
आगामी दिनमा पनि यही स्तरका नेपाली चलचित्र निर्माण गर्ने, नेपाली जीवन र परिवेश अनुसारको कथावस्तुमा आधारित चलचित्र निर्माण गर्नेतर्फ निर्माताको ध्यान जानु आवश्यक छ ।
तर, त्यसका लागि सरकारले पनि नेपाली चलचित्र संरक्षणमा पहल गर्नु जरुरी छ । पछिल्लो समय नेपाली चलचित्रले स्तरीयता सफलता पाउँदै गएका छन् । नेपाली चलचित्रले दर्शकको मन जित्न थालेका छन् ।
दर्शकको मनसँगै राम्रो आम्दानी पनि गर्न थालेका छन् । नेपाली चलचित्र महिनौँसम्म हाउस फुल चल्नु नेपालीहरूका लागि गौरवकै कुरा हो ।