© 2026
चन्द्रौटा (कपिलवस्तु), ७ मंसिर ।
रहतावल सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा उत्तम चौधरी थारु अध्यक्षमा विजयी भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३ र ५ स्थित वनको यहि ६ गते मंसिरमा सम्पन्न भएको चुनावमा नेकपा एमाले निकट समूहको घेराबन्दीबीच पनि थारुले नेपाली कांग्रेस र राप्रपाको समर्थनमा प्रतिस्पर्धा गर्दै विजय हासिल गरेका हुन् ।
उनीले ३३३ मत प्राप्त गरी एमाले समर्थित यज्ञ बहादुर बेल्बासेलाई पराजित गरेका छन् । बेल्बासेले २५१ मत ल्याएका थिए । थारु नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) कपिलवस्तुका कोषाध्यक्ष तथा डंगोरिया संस्कृति युवा क्लबका अध्यक्ष समेत हुन् ।
यस्तै उपाध्यक्षमा राजकुमार थारु ३४६ मतसहित निर्वाचित बनेका छन् । उनका प्रतिस्पर्धी तिलकराम जोगी कुंवरले २३१ मत पाए । सचिवमा कौशिल्या थारुले ३३२ मत ल्याउँदै विजय हात पारिन् भने प्रतिस्पर्धी बबिता थारुले २४८ मत प्राप्त गरिन् । सहसचिवमा बलिराम थारु ३१९ मतसहित विजयी भए, उनका प्रतिद्वन्द्वी आशराम थारुले २६० मत ल्याए । कोषाध्यक्षमा बिमला बेल्बासे ३३४ मत प्राप्त गर्दै निर्वाचित भइन्। सीता चौधरीले २४४ मत ल्याउँदै पराजित भइन् । सदस्य पदमा हात्ती चुनाव चिन्हबाट उठेका सबै उम्मेदवार विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
उत्तम यसअघि सोही सामुदायिक वनमा डेढ वर्ष कार्यालय सचिवको रूपमा कार्यरत थिए । पूर्वअध्यक्ष बेल्बासेले नेतृत्व हस्तान्तरणमा अनिच्छा देखाएपछि निर्वाचन प्रक्रियासम्म पुगेको र दुबै नेता एमाले निकट भए पनि आन्तरिक किचलोका कारण प्रतिस्पर्धा भएको स्रोतले जनाएको छ ।
