© २०२३
गुल्मी, ६ मंसिर ।
सशस्त्र प्रहरी बल गुल्मीले भिरमा अड्किएको शव निकालेको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ पौदीअमराई बगाह निवासी वर्ष ४७ का बोम बहादुर खत्रीको शव आज बिहान सशस्त्र प्रहरीको सहयोगमा भीरमा भुण्डीएको अवस्थामा निकालिएको हो ।
एक सातादेखि बेपत्ता भएका खत्रीको शव भीरमा झुण्डीएको अवस्थामा शुक्रवार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए । स्थानीयले भिरमा अड्किएको अवस्थामा खत्रीको शव फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । शव अड्किएको स्थानदेखि तल बडिगाढ खोला र खोलामाथि भीर भएका कारण शव निकाल्न समस्या परेको थियो ।
सशस्त्र प्रहरी बल ३७ नं गुल्मका सशस्त्र प्रहरी नायब उपरिक्षक सुदिप प्रसाईको नेतृत्वमा सनिबार बिहान घटना स्थल पुगेको सशस्त्रको टोलीले एक घण्टा लगाएर शव निकालेको हो । खत्री गत कात्तिक २८ गते घरबाट निस्केपछि सम्पर्क विहिन भएका थिए । उक्त शवलाई घटनास्थलमा मुचुल्का गरेपछि पोस्टमार्टमको लागि गुल्मी अस्पताल ल्याउने तयारी भएको सूचना अधिकारी सारुले बताए ।