© २०२३
नेपालगन्ज, ०६ मङ्सिर ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ महेन्द्रपुरकी हिउँटी थारु उमेरले ६० वर्ष पार गरिसकिन् ।
तर उमेरको छाया उनको जाँगर र नेतृत्व क्षमतामा कतै देखिँदैन । उनले विगत १२ वर्षदेखि बरघर बनेर आफ्नो गाउँको नेतृत्व गर्दै आएकी छिन् । अक्षर चिन्न, पढ्न नआए पनि उनलाई सिङ्गो गाउँ हाँक्न समस्या छैन ।
मोबाइल, इमेल, इन्टरनेटको जमानामा पनि उनले मोबाइल प्रयोग बिना नै आफ्नो गाउँका प्रत्येक घरमा प्रत्यक्ष पुगेर सूचना प्रवाह गर्दै आएकी छन् । उनी भन्छिन्, ‘मोबाइल चलाउन जान्दैन, गाउँमा कुनै सामाजिक कामका लागि भेला गराउनु परेको बेला सबैलाई खबर गर्न आफै पुग्छु ।’
थारु समुदायमा माघ पर्वमा बरघर परिवर्तन गर्ने परम्परा छ । बाँकेका केही स्थानमा भने जेठको महिनामा पनि बरघर परिवर्तन गर्ने गरेका छन् । प्रत्येक वर्षको माघमा अरूलाई नेतृत्व हस्तान्तरण गर्न चाहे पनि समाजले आफ्नो विकल्पमा कसैलाई अगाडि सार्न नचाहेको उनी बताउँछिन् ।
गाउँमा हुने सामाजिक कार्य, मर्नी कर्नी, सार्वजनिक पूजा पाठ, ससाना विकास निर्माणको कार्यमा जनश्रमदानको नेतृत्वदायी भूमिका निभाउँदै आएको र आफ्नो नेतृत्व समाजले रुचाउँदै आएकोले हालसम्म आफैले गाउँको अगुवाइ गर्दै आएको हिउँकीको भनाइ छ । समाजले विश्वास गर्दै आएमा र शरीरले साथ दिँदा सम्म नेतृत्व गर्न सक्ने उनको विश्वास छ ।
सदियौँदेखि पुरुषले समाज चलाउँदै आएकोमा केही वर्ष यता महिलाले पनि नेतृत्व गर्दै आएका छन् । महिलालाई पनि बरघरको नेतृत्व गर्न दिने परम्परा सुरु भएको छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा करिब ५० जना बढी महिलाले बरघरको नेतृत्व गरिरहेको देखिन्छ ।
ती महिलाले कुशलता पूर्वक नेतृत्व बहन गरेको भन्दै समाजले बरघर परिवर्तन नगरेर तिनै महिलालाई जिम्मेवारी दिँदै आएको छ । समाजले महिलालाई पनि विश्वास गरेर सहायक बरघर र मुख्य बरघरको समेत जिम्मेवारी दिन थालेको छ ।
आफ्नो कार्यकुशलता देखेर समाजले नेतृत्व नछोड्न आग्रह गरेकोले हाल नेतृत्व गरिरहेका बड्घर महिलाहरू बताउँछन् । राप्ती सोनारी–६ पद्नाहाकी जुगमानी थारुलाई पनि समाजले ५ वर्षको नेतृत्व सुम्पिसकेको छ ।
तीन वर्षदेखि बड्घर बनेर गाउँको नेतृत्व गर्दै आएकी जुग्मानीलाई कुनै समस्या छैन । उनी भन्छिन्, ‘महिलालाई अन्य थारु गाउँहरूमा नेतृत्व नदिएर मात्र हो, म जस्तै अरू महिलाले पनि सहजै बरघरको नेतृत्व सम्हाल्न सक्छन् ।’
थारु समुदायमा गाउँ समाजको नेतृत्वगर्ने व्यक्तिलाई बरघर, भल्मन्सा, मटावाँ, ककन्दारलगायतका नामले चिनिन्छ । दाङ र बाँकेमा मटावाँ, बर्दियामा बरघर, कैलाली र कञ्चनपुरमा भल्मन्साको नामले चिनिए पनि सबैको काम कर्तब्य र जिम्मेवारी गाउँको अगुवाइ गर्ने रहेकोले सबै जिल्लामा एकरूपता दिनलाई पछिल्लो समय सबैतिर बरघर भन्ने गरिएको छ ।
थारु समुदायको प्रथाजनित परम्पराका रूपमा रहेको बरघर प्रणालीमा पुरुषले मात्र नेतृत्व पाउने चलन बिस्तारै महिला–मैत्री हुँदै गएको छ । महिलाले नेतृत्व सम्हालेपछि समाजमा धेरै परिवर्तन ल्याएको बरघर महिलाहरू बताउँछन् ।
आर्थिक क्षेत्रमा पुरुषभन्दा महिला परदर्शी रहेको पनि उनीहरूको भनाइ छ । राप्ती सोनारी २ मदुवा गाउँकी बरघर मिना थारुले तीन वर्षदेखि नेतृत्व सम्हाल्दा समाजमा कुनै विवाद आउन नदिएको बताउँछिन् ।
उनी भन्छिन्–‘यसअघिका बरघरहरूले समाजमा हुने झैझगडा मिलाउँदै आएका थिए, मैले नेतृत्व सम्हालेदेखि त्यस्तो समस्या मकहाँ आएको छैन ।’ थारु महिलाहरू बिस्तारै बरघरको नेतृत्व सम्हाल्ने अवसर पाउन थालेको उनको भनाई छ ।
समाजले महिलाको नेतृत्व स्वीकार गर्न नसकेकै कारण आफ्नो आमा र बज्यैहरूको पालामा महिलाहरूले अवसर नपाएको बरघर मिना बताउँछिन् । घर–परिवार, बालबच्चा, चुलोचौको, खेतबारी—सबै महिलाकै काँधमा पर्ने हुँदा नेतृत्वमा चुनौती बढ्ने मानिन्छ ।
तर बर्दिया राजापुर–१ की फूलकुमारी थारु भन्छिन्— ‘पुरुषले घरधन्दा र नेतृत्व एकै चोटि गर्न गाह्रो पर्छ । तर महिलाले दुवै जिम्मेवारी सजिलै सम्हाल्छन् ।’ थारु समुदायमा नयाँ वर्षको रूपमा मनाइने माघ पर्वमा बड्घरको समीक्षा पनि गरिन्छ भने चित्त नबुझे बड्घर परिवर्तन गर्ने परम्परा रहेको पाइन्छ ।
आफ्नो कामको समीक्षा तथा मूल्याङ्कन माघ पर्वमै हुने गरेको र हालसम्म राम्रै मूल्याङ्कन भइरहेकाले समाजले जिम्मेवारीबाट हटाउन नसकेको कञ्चनपुर बेलौरी नगरपालिका ९ की गितादेवी डंगौरा बताउँछिन् ।
उहाँ भन्छिन्, ‘महिलाहरू सभ्य तरिकाले नेतृत्व गर्छन्, आर्थिक पारदर्शिता महिलाले राम्रो गर्छन्, भ्रष्टाचार गर्न जान्दैनन्, त्यसैले बरघर नेतृत्वमा महिलाहरू पनि वर्षौँसम्म टिकिरहेका छन् ।’
धेरै थारु गाउँहरूमा अहिले पनि बरघरको नेतृत्व महिलालाई सहजै दिन नसकेको देखिन्छ । सहायक बरघरको रूपमा भने केही गाउँहरूमा अलि बढी महिलाले जिम्मेवारी पाएका छन् ।
राप्ती सोनारी ४ पसरामपुरमा कान्छा थारुले लगातार १९ वर्षसम्म बरघरको नेतृत्व गरे पनि गत वर्षको माघदेखि पहिलो पटक फूलकुमारी थारुलाई सहायक बरघर बनाइएको छ । फूलकुमारीलाई सहायक बरघर बनाएपछि आफूलाई पनि सामाजिक काममा केही बोझ हल्का भएको मुख्य बरघर कान्छा थारुको भनाई छ ।
उनी भन्छन्, ‘सहायक बरघरको जिम्मेवारी महिलालाई दिएपछि समाजको नेतृत्व गर्न सिकेपछि आगामी दिनमा महिलाले पनि मुख्य बरघरको जिम्मेवारी सम्हाल्न सक्छन्, समावेशिताको राम्रो अभ्यासको सुरुवात भएको छ ।’
राप्ती सोनारी ५ ललहीमा पनि गत जेठमा मन्जु थारुलाई सहायक बरघरको जिम्मेवारी सुम्पीएको ललहीका मुख्य बरघर सुशिल चौधरीले बताए । उनीसँगै बरघर सचिवमा पनि राजकुमारी थारुलाई मनोनित गरिएको चोधरीले जानकारी दिए ।
सहायक बरघर र सचिवमा महिला राखेपछि सामाजिक काममा महिला सहभागिता गराउन सहज भएको बरघर चौधरीको भनाइ छ ।
महिलाले पनि नेतृत्व सम्हालेपछि थारु समुदायमा नयाँ युगको सुरुवात भएको मटावाँ बरघर महासङ्घका अध्यक्ष एवं लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री डिल्ली बहादुर चाौधरीको भनाइ छ ।
उनी भन्छन्–‘बरघर प्रणालीमा पनि समावेशिताको महत्त्व छ, तर पहिले जे जस्तो भए पनि अब मुख्य र सहायक बरघर मध्य एउटामा महिलालाई समेट्न जरुरी छ ।’ प्रथाजनित प्रणाली भएकाले पहिले देखिनै पुरुषले नेतृत्व गरे पनि अबका पुस्ताले समावेशीको दृष्टिकोणले महिलालाई अवसर दिनै पर्ने उनको जोड छ ।
पश्चिम नेपालका थारु समुदायमा हाल करिब ६ हजारको हाराहारीमा बरघरको सङ्ख्या रहेको बरघर महासङ्घका अध्यक्ष एवं पूर्व मुख्य मन्त्री चौधरीले जानकारी दिए । ती मध्य अधिकांश पुरुष बरघर रहेका छन् ।
दाङ र बाँकेमा अझै पनि बरघर महिलाको अभ्यास धेरै देखिँदैन । तर अझ धेरै महिलालाई अग्रसर गराएर बड्घरको भूमिकामा ल्याउनुपर्ने हाल नेतृत्व गर्दै आएका बरघर महिला बताउँछन् ।