Butwal Today

‘सडक मापदण्ड भित्रका घर टहरा हटाऊ’

४ मंसिर २०८२, बिहीबार
अ+
अ-

गुल्मी, ०४ मङ्सिर ।

गुल्मीको गुल्मी दरबार गाउँपालिकाले मदन भण्डारी राजमार्ग अन्तर्गत सडक मापदण्ड भित्रका घर टहरा हटाउन स्थानीयलाई आग्रह गरेको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयले गुल्मीको रिडी–तम्घास सडक खण्डका घर टहरा र विभिन्न संरचनाहरू हटाउनका लागि पालिकाहरूमा पत्राचार गरेपछि पालिकाले उक्त निर्णयलाई कार्यान्वयन गर्न लागेको हो ।

उक्त खण्डमा सडकस्तरोन्नती गरी कालोपत्रे गर्न सुरु गरेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले स्थानीय पालिकाहरू मार्फत सडक मापदण्ड भित्र रहेका घर टहरा र अन्य संरचनाहरू हटाई सडक निर्माणको कामलाई सहयोग गर्न आग्रह गर्दै आएको छ ।

कार्यालयको अनुरोधपछि पालिकाले गुल्मी दरबार गाउँपालिका–४ अन्तर्गतका सडक मापदण्ड भित्र रहेका घर टहरा तथा विभिन्न संरचना हटाउनका लागि सार्वजनिक रूपमा सूचना जारी गरेको छ ।

पालिकाले वडा नं. ४ को श्रीनगरदेखि रुन्खादहसम्म सडक मापदण्डभित्र पर्ने घर टहरा तथा संरचनाहरू समयमै नहटाउँदा निर्माण कार्यमा अवरोध सृजना भइरहेको जनाएको छ ।

वडा कार्यालयले बजार क्षेत्रका संरचना नहटाउँदा धुलो, प्रदूषण, व्यापार र जनस्वास्थ्यमा असर परेको, आवतजावतमा बाधा पर्ने जोखिम बढेको कारण १५ दिनभित्र स्वयं हटाई सहकार्य गर्न सम्बन्धित सबैलाई आग्रह गरेको वडा अध्यक्ष देविराम पोख्रेलले जानकारी दिएका छन् ।

उक्त संरचना नहटाउँदासम्म क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रियामा समेत समस्या उत्पन्न हुने भन्दै समयमै संरचनाहरू हटाउन वडा कार्यालयले स्थानीयलाई ध्यानाकर्षण गराएको छ ।

पालिकाले क्षतिपूर्तिको सम्पूर्ण प्रक्रिया मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासबाट हुने भएका कारण सरोकारवालाहरूलाई सोही कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

उक्त कार्यका लागि बजार क्षेत्रमा क्रियाशील सङ्घ–संस्थालाई पनि संरचना हटाउनका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अनुरोध गरिएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयद्वारा गुल्मीको रिडी ‐तम्घास सडक खण्डमा हाल २५ किलोमिटर सडकमा स्तरोन्नति र कालोपत्रे गर्ने काम भइरहेको छ ।