© २०२३
काठमान्डौ, ३ मंसिर ।
सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्ने मागसहित नेपाली कांग्रेसका संस्थापन पक्षका २४ केन्द्रीय सदस्यहरूको बैठक ललितपुरमा सुरु भएको छ । यसअघि उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा ७ बुँदे ध्यानाकर्षण पत्र दर्ता गराएका थिए ।
केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार ललितपुरको कुपण्डोलमा भइरहेको बैठकमा हालसम्मको राष्ट्रिय राजनीतिक अवस्थाको समीक्षा, ७ बुँदे मागको मूल्यांकन र भोलि बोलाइएको केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीतिबारे छलफल भइरहेको छ । “अहिलेसम्मको समीक्षा, भावी रणनीति र भोलि केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा हामी छलफल गर्दैछौँ,” शेर्पाले भने, “७ बुँदे ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका सबै सदस्यहरू उपस्थित छन् ।”
उक्त २५ सदस्यीय मागमा पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि ऐक्यबद्धता जनाएका छन् ।
सभापति शेरबहादुर देउवा समीकरणबाट निर्वाचित केन्द्रीय सदस्य—राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला सङ्ग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की र चीनकाजी श्रेष्ठ—बैठकमा सहभागी छन् ।